
उर्लाबारी, २८ जेठ
उर्लाबारी–२ स्थित सुनपकुवा माविले चौंथो डुम्रे कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार सम्पन्न फाइनलमा उर्लाबारी–४ स्थित हिमचुली बोर्डिङ स्कुललाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै सुनपकुवाले उपाधिमाथि कब्जा जमाएको हो ।
फाइनल खेलमा सुनपकुवाका अनुप लिम्बूले २, सौगात धिमाल, विजय लिम्बू र असिम लामाले १÷१ गोल गरेका थिए । उक्त खेलको म्यान अफ दि म्याच सुनपकुवाका अनुप लिम्बू घोषित भए । उपाधिसँगै सुनपकुवाले नगद २५ हजार र उपविजेता हिमचुलीले नगद १५ हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । विजेता उपविजेतालाई समापन कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीना खतिवडा पौडेल, विशिष्ट अतिथि वडा नं. ३ का वडा अध्यक्ष भिष्मराज बुढाथोकीले पुरस्कार वितरण गरे ।
प्रतियोगितामा हिमचुलीका सौरभ भण्डारी सर्वोत्कृष्ट खेलाडी घोषित भए । विधागत रुपमा ‘फेयर प्ले’ शिशु शिक्षा सदन, उर्लाबारी–९, उत्कृष्ट गोलकिपर मोरङ मोडेलका सविन लावती, उत्कृष्ट डिफेन्डर सुनपकुवाका रमेश चौधरी, उत्कृष्ट मिडफिल्डर मोरङ मोडेलका एन्जल बोहोरा, उत्कृष्ट स्ट्राइकर सुनपकुवाका सौगात धिमाल, सर्वाधिक गोलकर्ता सुनपकुवाका असिम लामा घोषित भए । उनीहरुलाई उनीहरु नगद र ट्रफी प्रदान गरिएको खेल संयोजक यामबहादुर बस्नेतले जानकारी दिए ।
हरियाली युवा क्लबको आयोजनामा उर्लाबारी–२ स्थित डुम्रे खेल मैदानमा जेठ १५ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा उर्लाबारीका सामुदायिक र निजी गरी २३ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई क्लबका अध्यक्ष महेश भण्डारी (सक्षम) ले धन्यवाद ज्ञापन गरे ।
