उर्लाबारी, ९ कार्तिक
कोशी प्रदेशका पाँच जिल्लामा प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृह मन्त्रालयले आज गरेको ३६ सहसचिवहरूको सरुवामा कोशीका पाँच जिल्लाका सिडियो फेरिएका हुन् । झापा, मोरङ, सुनसरी, धनकुटा र उदयपुरमा नयाँ सिडियो आउने भएका छन् । मोरङमा युवराज कट्टेल प्रमुख जिल्ला अधिकारीका रुपमा आउने भएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा कार्यरत कट्टेललाई मोरङ आउने भएका छन् । मोरङका सिडियो इन्द्रदेव यादवको महोत्तरी सरुवा भएको छ ।
यस्तै, धनकुटाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको झापा सरुवा भएको छ । भने धनकुटामा विनोदकुमार खड्का आउने भएका छन् । उनी यसअघि रौतहटको सिडियो थिए । झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको काभ्रेपलाञ्चोक सरुवा भएको छ । गृहमन्त्रालयबाट बासुदेव घिमिरेको जिल्ला प्रशासन कार्यालय सुनसरीको प्रमुख जिल्ला अधिकारीको रुपमा पदस्थापन भएको छ । सुनसरीका सिडियो धर्मेन्द्रकुमार मिश्रको बारा सरुवा
भएको छ । उदयपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा धर्मराज जोशी आउने भएका छन् । उनी यसअघि बाँकेमा थिए । उदयपुरका सिडियो प्रेमप्रसाद लुइटेलको धनुषा सरुवा भएको छ ।





