उर्लाबारी, १ कार्तिक
उर्लाबारीको अग्रणी सहकारी हाम्रो बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा मनोरथ भण्डारी चयन हुनुभएको छ । आज सम्पन्न संस्थाको २९ औँ चुनावी साधारणसभाबाट यसअघि सचिव रहनुभएका भण्डारी अध्यक्षमा सर्वसम्मत् चयन हुनुभएको हो ।
९ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा समितिको निर्वाचनमा खुला दुई सदस्य बाहेक सबै पदमा सर्वसम्मत् भएको छ । समितिको उपाध्यक्षमा विकास बुढाथोकी, सचिवमा ज्ञानेन्द्रप्रसाद भट्टराई र कोषाध्यक्षमा रुपचन्द्र दाहाल (रोशन) चयन हुनुभएको छ । महिला सदस्यमा ममता पाण्डे बुढाथोकी, शान्ताकुमारी राई र ईश्वरीदेवी लम्साल, लेखा सुपरीवेक्षण समिति संयोजकमा कमलराज गौतम, सदस्यमा भागीराज खड्का र टोमनाथ गौतम सर्वसम्मत् भएका छन् ।
खुला दुई सदस्यमा चार जनाले उम्मेद्वारी दिएपछि मतदानबाट बद्री अधिकारी र चेतराज श्रेष्ठ विजयी हुनुभएको छ । जम्मा खसेको ४५३ मत मध्ये अधिकारीले २३४ र श्रेष्ठले २३१ मत प्राप्त गर्नुभयो । सदस्यमा राजेन्द्र कार्कीले १९५ र लोकनाथ पौडेलले १८९ मत प्राप्त गर्नुभयो ।
संस्थाको २९ औँ वार्षिक साधारणसभा अध्यक्ष डिवी थापाको अध्यक्षता र उर्लाबारी नगरपालिकाका नगर प्रमुख तथा संस्थाका पूर्व अध्यक्ष गंगाप्रसाद खरेलको प्रमुख आतिथ्यतामा आज सम्पन्न भएको छ । सो अवसरमा सचिव मनोरथ भण्डारीले प्रगति प्रतिवेदन तथा नीति कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष ज्ञानेन्द्रप्रसाद भट्टराईले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक विकास बुढाथोकीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । ७ हजार ३८६ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी चार करोड रुपैयाँ रहेको छ । उर्लाबारी नगरपालिका, पथरीशनिश्चरे नगरपालिका, मिक्लाजुङ गाउँपालिका, रतुवामाई नगरपालिकाको वडा नं. ८, ९ र १० तथा लेटाङ नगरपालिकाको ८ र ९ वडा कार्यक्षेत्र रहेको हाम्रो साकोसले शेयर सदस्यको सुविधाका लागि विविध कार्यक्रम अघि सार्दै आएको छ ।
प्रसुति राहत, मृत्यु राहत, उपचार सहयोग, ज्येष्ठ सदस्य सम्मान, ज्येष्ठ सदस्य भ्रमण, बाल सदस्य भ्रमण, रक्तदान लगायत कार्यक्रम गर्दै आएको नवनिर्वाचित सचिव ज्ञानेन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो ।





