उर्लाबारी, २७ असोज
झापाको दमकमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा अन्तर्गत उर्लाबारी इकाइको साधारणसभा आज सम्पन्न भएको छ । उर्लाबारी उद्योग वाणिज्य संघको सभाहलमा भएको इकाइगत साधारणसभामा संस्थाका अध्यक्ष बुद्धिसागर बरालले गत आर्थिक वर्षको प्रतिवेदन तथा चालु आर्थिक वर्षको योजना, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए भने लेखा सुपरीवेक्षण समिति संयोजक गायत्रीप्रसाद पराजुलीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
१० हजार ६ सय ३५ जना शेयर सदस्य रहेको स्वर्णलक्ष्मी साकोसले गत आर्थिक वर्षमा कूल १ अर्व २० करोड ३९ लाख ८६ हजार ७३८ रुपैयाँ कारोबार गरेको संस्थाका व्यवस्थापक कमलकुमार घिमिरेले जानकारी दिनुभयो । शेयर पुँजी ११ करोड ७ लाख ७५ हजार रुपैयाँ रहेको संस्थाले गत आर्थिक वर्षमा ९५ लाख ९६ हजार ६८५ खुद नाफा कमाउन सफल भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि उर्लाबारी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौड्यालले सहकारीहरुले शेयर सदस्यको हितमा काम गर्दै विपन्न सदस्यका जीविकोपार्जनमा टेवा पु¥याउँदै आएको बताउनुभयो । सहकारीले बचत तथा ऋणको कारोबार मात्र नगरी रोजगारी सिर्जना समेत गर्दै आएको उहाँको भनाई थियो । सो अवसरमा सूर्य बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष नारदमणि नेपाल, उर्लाबारी उद्योग वाणिज्य संघका सदस्य केशव भट्टराईले समेत मन्तव्य राख्नुभएको थियो । संस्थाकी सञ्चालक समिति सदस्य तथा उर्लाबारी सेवा केन्द्र संयोजक प्रेमकुमारी रिजालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन व्यवस्थापक कमलकुमार घिमिरेले गर्नुभएको थियो ।
झापाको झिलझिले, गौरादह, सुरुङ्गा र उर्लाबारीमा इकाइगत साधारणसभा सम्पन्न भइसकेको र भोलि असोज २८ गते दमकमा माइन्युट प्रमाणिकरण सभा गरी यस वर्षको साधारणसभा सम्पन्न हुने अध्यक्ष बुद्धिसागर बरालले बताउनुभयो ।





