About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १५ भदौ
नेपाल दर्शन कलेज उर्लाबारीले विद्यार्थी स्वागत, बधाई तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ । शनिबार उर्लाबारी–७ स्थित उर्लाबारी पार्टी प्यालेसमा एक भव्य कार्यक्रमको आयोजना गरी कलेजले कक्षा ११ र वीवीएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थीलाई स्वागत गरेको हो ।
यस्तै, कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बधाई ज्ञापन गर्नुका साथै वीवीएस उत्तीर्ण विद्यार्थीलाई विदाईका साथ दीक्षान्त कार्यक्रम गरिएको हो । कलेजका अध्यक्ष केपी शिवाकोटीको अध्यक्षता र उर्लाबारी नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव शालिग्राम काफ्लेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका वक्ताहरुले यस क्षेत्रकै पुरानो नेपाल दर्शन कलेजले उर्लाबारीको शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।


प्रमुख अतिथि शिक्षा शाखा प्रमुख काफ्लेले गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा नेपाल दर्शन कलेजका योजना र कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा उर्लाबारी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उर्मिला थापा, प्याव्सन नगर समिति अध्यक्ष सूर्यकुमार पौडेललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।


सो अवसरमा प्रिन्सिपल सविना खड्काले कलेजका गतिविधि र भावी योजनाका बारेमा जानकारी गराउनुभएको थियो भने भाइस प्रिन्सिपल दुर्गाप्रसाद पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । प्रिन्सिपल खड्काले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र होटल म्यानेजमेन्ट तथा स्नातक तहमा व्यवस्थापन संकायको पठनपाठन हुँदै आएको कलेजमा समयको माग अनुसारको शिक्षा प्रदान गर्ने प्रयत्न रहेको बताउनुभयो । पूर्वाधार, प्रयोगशाला, स्कुल बसलगायतको राम्रो प्रवन्ध रहेको बताउँदै उहाँले समयसापेक्ष प्रविधिमैत्री पठनपाठनका लागि प्रत्येक कक्षाकोठामा स्मार्ट बोर्डको व्यवस्था गरिएको बताउनुभयो ।


कार्यक्रमका अवसरमा कक्षा १२ र वीवीएसमा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई सम्मान गरिएको थियो । यस्तै, उत्कृष्ट शिक्षक कर्मचारीलाई पनि नगदसहित सम्मान गरिएको थियो । उत्कृष्ट शिक्षक दुर्गाप्रसाद पौडेल, कर्मचारीतर्फ लेखा प्रमुख अनिल श्रेष्ठ र सवारी चालक वीरबहादुर धिमाललाई सम्मान गरिएको हो । दुई सत्रका सञ्चालित कार्यक्रमको पहिलो सत्रमा कलेजका कोअर्डिनेटर गोविन्द भट्टराईले स्वागत मन्तव्य र शिक्षक नवराज भट्टराईले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रमको दोस्रो सत्रका साँगीतिक कार्यक्रम गरिएको थियो । उक्त सत्रमा विद्यार्थीहरुले गायन, नृत्यलगायत प्रस्तुत गरेर भरपुर मनोरञ्जन दिलाएका थिए । विद्यार्थीहरुको उल्लेख्य उपस्थितिमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको कलेजका सञ्चालक प्रकाश कार्कीले बताउनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय