दमक, १२ भदौ
मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दमकले आफ्नो २९ औँ वार्षिकोत्सव तथा ३१ औँ साधारण सभा सम्पन्न गरेको छ । आज एकीकृत माइन्युट प्रमाणीकरण सभा सम्पन्न गरेसँगै संस्थाले साधारण सभा तथा वार्षिकोत्सवका सम्पूर्ण कार्यक्रमहरु सम्पन्न गरेको हो ।
गएको साउन २८ गतेदेखि सुरु भएको साधारण सभा विभिन्न सात एकाइमा विभाजन गरी एकाइगत साधारण सभा गरिएको थियो । सबै एकाइबाट छनौट हुनुभएका प्रतिनिधिहरु सहभागी भई आज दमकको कस्मिक पार्टी प्यालेसमा एकीकृत माइन्युट प्रमाणीकरण सभामा सम्पन्न भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मन्त्री दाहालसहित राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेल, उपाध्यक्ष डीबी बस्नेत, दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई प्रसाईलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरू र विभिन्न सहकारी संस्थाका प्रतिनिधि तथा सहकारी अभियन्ताहरु अतिथिको रुपमा रहनुभएको थियो ।



सभामा विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरूलाई पुरस्कृत समेत गरिएको थियो । सभामा हरेक वर्ष संस्थाबाट प्रदान गरिँदै आएको स्वर्गीय गणेशप्रसाद बस्नेत स्मृति सहकारी अभियन्ता पुरस्कार राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डिबी बस्नेतलाई प्रदान गरियो । यस्तै, स्वर्गीय गणेशप्रसाद बस्नेत स्मृति पत्रकारिता पुरस्कार झापाका अग्रज पत्रकार माधव विद्रोहीलाई र मेची सहकारी पत्रकारिता पुरस्कार उर्लाबारीका पत्रकार जगन्नाथ भट्टराईलाई प्रदान गरियो ।
यस्तै संस्थामा कार्यरत कर्मचारीहरू मध्येबाट उत्कृष्ट कार्यसम्पादनका आधारमा विभिन्न विभागमा कार्यरत कर्मचारीहरूलाई समेत पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेहरुमा उत्कृष्ट सेवा कार्यालय रुपमा दमक सेवा कार्यालय, उत्कृष्ट कर्मचारीहरू देवेन्द्र गौतम र विशाल टुडु, उत्कृष्ट सेवा कार्यालय प्रमुखका रुपमा बेलबारी सेवा कार्यालय प्रमुख रमेश क्षेत्री, कर्जा विभाग उत्कृष्ट कर्मचारीमा कञ्चन मिश्र, उत्कृष्ट कार्यालय सहायकमा पवित्रादेवी अधिकारी तथा उत्कृष्ट बजार प्रबन्धमा मिना न्यौपाने र प्रमोद न्यौपानेलाई पुरस्कृत गरिएको छ ।
साथै मेची सहकारी सञ्चार गृह पुरस्कारबाट विर्तामोडबाट सञ्चालित रेडियो भिजनलाई सम्मान गरिएको छ । सात इकाइमा विभाजन गरी गरिएको साधारण सभामा आज भएको एकीकृत माइन्युट प्रमाणीकरण सभामा सबै इकाइबाट प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
साथै संस्थाले साधारण सभा तथा वार्षिक उत्सवकै सन्दर्भमा गएको हिजो रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो । नेपाल रेडक्रस सोसाइटी दमकको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ६३ पिन्ट रगत संकलन भएको थियो । संस्थाले हरेक वर्षको भदौ ११ गते रक्तदान कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले संस्थाले हालसम्म गरिरहेका काम र भावी योजनाहरूको विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले यो वर्षदेखि सहकारीको विषयमा विद्यावारिधि गर्ने व्यक्तिलाई रु १ लाख प्रोत्साहन स्वरूप उपलब्ध गराउने कार्यक्रम सुरु गरेको बताउनुभयो । साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले गएको आर्थिक वर्षमा नेपाल सरकारलाई २ करोड ७४ लाख कर बुझाएको बताउनुभयो ।
बहुउद्देश्यीय प्रकृतिको यस मेची सहकारी संस्थाले यो वर्षदेखि मेची जल खानेपानी उद्योगको समेत सञ्चालन गर्ने अन्तिम तयारी गरेको छ । करिब ३ करोड लागतमा निर्माण भइरहेको खानेपानी उद्योग आगामी पौष महिनादेखि सञ्चालन गरिने तयारी गरिएको छ । यस अघि सहकारी आवास निर्माण गरी सदस्यहरुलाई हस्तान्तरण गरिसकिएको संस्थाले यो बर्ष सहकारी आवास २ निर्माण गर्न आवश्यक बजेट छुट्याएको छ ।
संस्थाले झापा मोरङ र इलामका विभिन्न १२ वटा सेवा कार्यलयबाट करिब १८ हजार सदस्यलाई सेवा दिइरहेको छ । २०५४ साल भदौ १२ गते दमकका २९ जना सदस्यहरूको एक लाख पैतालिस हजार पुँजीबाट सुरु भएको मेची सहकारी संस्थाको हाल करिब साढे ४ अर्ब माथिको कुल दायित्व तथा सम्पत्ति रहेको छ । संस्थाले सदस्यलाइ विभिन्न ३४ किसिमभन्दा बढीका सेवासुविधाहरू प्रदान गर्दै आएको छ ।


