About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ११ भदौ
शिक्षा विधेयकको विरुद्धमा निजी विद्यालय सञ्चालकहरुले निरन्तर खबरदारी गर्दै आएका छन् । उनीहरुले अहिलेकै अवस्थामा संघीय शिक्षा विधेयक पारित भए मान्य नहुने चेतावनी दिएका छन् ।
निजी विद्यालय सञ्चालकहरुले आज देशभरका जिल्लामा अन्तरक्रिया गर्दै खबरदारी गरेका छन् । विराटनगरमा आज प्याब्सन, एन प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रियामा बोल्ने अधिकांशले शिक्षा विधेयकको विरोध गरेका थिए ।
प्याब्सन केन्द्रीय उपाध्यक्ष टिकाराम ढकालले निजी क्षेत्रले शैक्षिक गुणस्तरमा दिएको योगदान तथा रोजगारीलाई नजरअन्दाज गर्दै राज्यले विभेद गरेको आरोप लगाउनुभयो । उहाँले निजी शिक्षण संस्थालाई नियमन गर्ने नाममा नियन्त्रण गर्ने ऐन ल्याउन खोजिएको भन्दै आपत्ति जनाउनुभयो । ‘अहिलेकै अवस्थामा यो ऐन जारी भएपनि हामी कार्यान्वयन गर्ने छैनौं, बरु जेल जान तयार छौं, उहाँले भन्नुभयो, ‘सरकारले त्यसका लागि जेल बनाउँदै गरे हुन्छ । अन्यथा हाम्रो मागको सुनुवाई हुनुपर्छ ।’
हिसानका उपाध्यक्ष भेषराज पोखरेलले विपन्न बालबालिकालाई पढाउने दायित्व राज्यले पूरा गर्न नसक्ने अनि निजी क्षेत्रलाई बाध्यकारी बनाउन खोज्नु न्यायसंगत नभएको बताउनुभयो । उहाँले अभिभावक राज्य हो कि निजी क्षेत्र ? भन्ने प्रश्न गर्दै भन्नुभयो, ‘हामीले घरखेत बन्धकी राखेर निजी क्षेत्रमा गरेको लगानीमा किन आँखा लागेको ?’
शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख जीवन गड्तौला, राष्ट्रिय परीक्षा बोर्ड विराटनगरका प्रमुख दामोदरप्रसाद चापागाईंले वार्ता र छलफलको माध्यमबाट निकास निस्कियोस् भन्ने कामना गर्दै गुणस्तरीय शिक्षा उपलब्ध गराउने किसिमको तथा निजी विद्यालय, विद्यार्थी, अभिभावकमैत्री कानुन बन्न सकोस् भन्ने शुभेच्छा ब्यक्त गर्नुभयो ।
एनप्याब्सन कोशीका अध्यक्ष सुनिलदत्त अधिकारीले निजी विद्यालय मास्ने गरी ल्याउन लागिएको ऐन कुनै हालतमा स्वीकार गर्न नसकिने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदीले शिक्षा र स्वास्थ्यमा दुरुस्त हुनसके मात्र अन्य क्षेत्रमा मुलुक अघि बढ्न सक्ने बताउनुभयो । उहाँले शिक्षाको पूर्ण जिम्मेवारी राज्यको हुने भन्दै निजी विद्यालयले शैक्षिक क्षेत्रमा पु¥याएको योगदान प्रशंसनीय रहेको चर्चा गर्नुभयो ।
कार्यक्रम प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेतको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको प्रारम्भमा उहाँले आन्दोलनमा उत्रनुपर्ने अवस्था र सामुहिक संघर्षको आवश्यकताका विषयमा चर्चा गर्नुभएको थियो । निजी विद्यालय सञ्चालकहरु साउन २९ गतेदेखि निरन्तर आन्दोलन गर्दै आएको प्याव्सन कोशी प्रदेश समिति सदस्य दिनेश पोख्रेलले बताउनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय