काठमाडौं, १० भदौ
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विश्वभरी छरिएर रहेका नेपालीहरुलाई नेपलामा आएर लगानी गर्न आह्वान गर्नुभएको छ । एसोसिएसन अफ नेपाली ओरिजियन (एएनओ) नेपाल च्याप्टरको प्रथम अधिवेशनको उद्घाटन गर्दै विभिन्न कारणले विदेशिएका र विदेशमा व्यापार गरिरहेका नेपालीहरुलाई नेपालमा आएर लगानी गर्न आग्रह गर्नुभएको हो ।

‘विदेशमा रहनुभएका नेपालीहरुलाई आफ्नो मातृभूमि नेपालमा लगानी गर्न आग्रह गर्दछु, नेपालको समृद्धि र विकास नै नेपालीहरुको सुख तथा समृद्धि भएकाले सरकारले पनि विदेशी लगानीको वातावरण तयार पारिरहेको छ र अझै सहजीकरण गर्न तयार छ’, उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भन्नुभयो । सम्मेलनको उद्घाटन सत्रमा सांस्कृतिक राष्ट्रियतालाई जोड्न पनि एएनओको भूमिका रहेको भन्दै अर्थमन्त्री पौडेलले यस्ता कार्यक्रमहरु आदानप्रदान हुन आवश्यक रहेको समेत बताउनु भएको थियो ।


उदघाटन सत्रमा एएनओका केन्द्रीय अध्यक्ष डिल्ली अधिकारीले नेपालीहरुको सुनौलो भविष्य निर्माणमा सहयोग पुगोस भन्ने उदेश्यले विश्वका ३२ वटा देशमा रहेका नेपालीहरुको सहभागितामा गत वर्ष थाइल्याण्डमा संस्था गठन गरेको जानकारी दिनुभयो । कार्यक्रममा महासचिव चुडामणी भट्टराईले एनएओ गठनको उदेश्यबारे आफनो धारणा राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन गर्दै नेपाल टेलिभिजन सञ्चालक समितिमा सदस्य फूलमान बलले पनि एएनओ गठनको उदेश्यबारे जानकारी गराउनु भएको थियो ।

सम्मेलनले विश्वभरी छरिएर रहेका नेपालीहरुलाई एकसुत्रमा बाँध्ने अभियान अन्र्तगत गठन भएको एसोसिएसन अफ नेपाली ओरिजियन (एनओ)को नेपाल च्याप्टर गठन भएको छ । एनओका केन्द्रीय अध्यक्ष डिल्ली अधिकारीको उपस्थितिमा नेपाल च्याप्टर गठन भएको हो । नेपालमा पूर्व उपरथि कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा १३ सदस्यीय एनओ समिति गठन भएको छ । जसमा उपाध्यक्ष राजेन्द्र अधिकारी, महासचिव फूलमान बल, सचिव कृष्ण प्रसाद ओडारी तथा कोषाध्यक्षमा यमुना पराजुली अधिकारी चयन हुनुभएको छ । साथै सदस्यहरुमा गिता गुरूङ, डा। सुशीला नेपाली, रञ्जन विडारी, कृष्ण विक, रविता तामाङ, सुनिल थापा र दिक्षा चपाई चयन हुनुभएको छ । सम्मेलनमा इन्ट्रा फाउण्डेशनका नेपाल च्याप्टरका अध्यक्ष बाबुकृष्ण कार्कीले पनि आफ्ना धारणा राख्नु भएको थियो ।





