About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ३० साउन
उर्लाबारी बहुमुखी क्याम्पस सञ्चालक समिति चयनको पूर्वसन्ध्यामा गत जेठ ३० गते निर्वाचन समितिले एकाएक निर्वाचन कार्यक्रम स्थगन गरेको सूचना प्रकाशन ग¥यो । निर्वाचिन समिति संयोजक हस्तबहादुर भट्टराईले हस्ताक्षर गर्नुभएको सूचनामा ‘जेठ ३१ गतेका लागि तोकिएको मतदान प्रक्रियाका सम्पूर्ण कार्यक्रम विशेष कारणले तोकिएको समयमा सम्पन्न हुन नसक्ने भएकाले उक्त कार्यक्रम आगामी २०८२ भदौ ७ गते शनिबारभित्र सम्पन्न गर्ने गरी हाललाई स्थगित गरिएको छ’ भन्ने व्यहोरा उल्लेख थियो ।
जेठ ३१ गतेको निर्वाचन स्थगत गर्नुपर्ने विशेष कारण केही थिएन, थियो त राजनीतिक सहमतिको प्रयास । विगतदेखि नै राजनीतिक भागबण्डामा सञ्चालक समिति चयन हुँदै आएको उर्लाबारी बहुमुखी क्याम्पसमा यस वर्ष भने भागबण्डा पेचिलो बनेको छ ।
निर्वाचन समितिले पुनः तोकेको निर्वाचनको मिति आउन अब ८ दिन बाँकी छ । तर, अहिलेसम्म निर्वाचनका कुनै कार्यक्रम सार्वजनिक गरिएको छैन । यसबीचमा राजनीतिक दलहरु भने पटक पटक छलफलमा बसेका छन् । उर्लाबारीमा क्रियाशील राजनीतिक दलहरुले भागवण्डा गरेर सहमतिमा समिति चयन गर्ने प्रयास गरेपनि सफल हुन सकेका छैनन् । राजनीतिक दलको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीले भने सहभागिता जनाएको छैन ।
क्याम्पस सञ्चालक समितिमा १५ सदस्यका लागि हुने निर्वाचनमा ४० जनाले उम्मेद्वारी दिएका छन् । नगरमा क्रियाशील नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, राप्रपालगायत पार्टीबीच अहिलेसम्म भागबण्डामा सहमति हुन नसक्दा मतदानबाटै समिति चयन हुने देखिएको छ । राजनीतिक पार्टीहरु आ–आफ्नो अडानबाट पछि नहट्ने साथै पार्टीभित्रै पनि समस्या भएपछि सहमति हुन नसकेको स्रोतले जनाएको छ । क्याम्पस सभा सदस्यहरु भने निर्वाचनलाई अनिर्णयको बन्दी बनाउनुभन्दा निर्वाचनबाटै भएपनि समिति चयन गर्नुपर्ने बताउँदै आएका छन् । निर्वाचनका लागि ९१२ जनाको मतदाता नामावली सार्वजनिक गरिएको छ ।
क्याम्पस प्रमुख खेमराज कार्कीले भदौ ७ गते निर्वाचन हुने बताउनुभयो । ‘सहमति भए पनि नभएपनि भदौ ७ गते निर्वाचन हुन्छ’ उहाँले भन्नुभयो, ‘आइतबारदेखि निर्वाचन समितिले काम थाल्छ ।’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय