काठमाडौं, २८ साउन
आगामी अगष्ट १६–१७ मा हुन लागेको गैरआवासीय नेपाली संघ अमेरिका शाखाको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार डा. पर्शुराम दाहालले आफ्नो उम्मेदवारीलाई ‘एकता, पारदर्शीता र जवाफदेहिताको अभियान’को रूपमा प्रस्तुत गर्नुभएको छ ।
झापा चन्द्रगढीमा जन्मिनुभएका डा. दाहालले स्थानीय विद्यालयबाट एसएलसी उत्तीर्ण गर्नुभयो । धरानमा आइएसी, विराटनगरमा बीएसी र काठमाडौंबाट एमएसी अध्ययनपछि उहाँ पूर्ण छात्रवृत्तिमा अमेरिका पुग्नुभयो । ओक्लाहोमा विश्वविद्यालयबाट भौतिकशास्त्रमा पीएचडी हासिल गरी हाल उहाँ कृत्रिम बुद्धिमत्ता एआई वैज्ञानिकका रूपमा कार्यरत हुनुहुन्छ ।
नेपालमा शिक्षा र अनुसन्धानमा योगदान
अमेरिकामा रहेपनि नेपाल र नेपालीप्रति उहाँको अगाथ प्रेम देखिन्छ । उहाँले दर्जनौं स्नातक र स्नातकोत्तर विद्यार्थीलाई अनुसन्धानमा मार्गदर्शन गर्नुभएको छ । विगत २० वर्षदेखि आफ्नै माध्यमिक विद्यालयका उत्कृष्ट विद्यार्थीलाई वार्षिक सम्मान र पुरस्कार दिँदै आउनु भएको छ । यसलाई उहाँले युवा पुस्तामा आत्मविश्वास र प्रेरणा जगाउने माध्यमका रूपमा लिनु भएको छ । नेपालका संचारमाध्यमहरुमा एआई सम्बन्धि लेख र अन्तर्वार्ताका माध्यमबाट प्रबिधि र नवप्रबद्र्धनका क्षेत्रमा अग्रसर रहन आग्रह गरिरहनुभएको पाइन्छ ।
सामाजिक र संगठनात्मक नेतृत्व अनुभव
ड. दाहालले झापा समाज अमेरिकाको अध्यक्षका रूपमा लगातार १० वर्ष नेतृत्व गर्नुभएको छ र हाल सल्लाहकारको रूपमा सक्रिय हुनुहुन्छ । साथै, टेक्सास नेपाली समाजका पूर्व सचिव समेत रहिसक्नुभएको छ । उहाँले प्रवासी नेपाली समुदायमा राहत, शिक्षा, लगानी र सीप विकासका कार्यक्रमहरू सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।
मुख्य चुनावी प्रतिबद्धता
डा. दाहालले एनआरएनलाई तीन टुक्रामा विभाजित गर्ने गुटबन्दी अन्त्य गरी खुला र इमान्दार संवादमार्फत सबै पक्षलाई एकजुट बनाउने लक्ष्य राख्नुभएको छ । उहाँका अनुसार, प्रवासी नेपालीको साझा घरलाई मजबुत बनाउँदै शिक्षा, सेवा, लगानी र राहतका साझा कार्यक्रम अघि बढाइने छ । साथै, एनआरएनलाई प्रविधि, सीप र दृष्टिकोण निर्यातको केन्द्रका रूपमा विकास गर्ने योजना उहाँको प्राथमिकतामा रहेको देखिन्छ ।

स्वतन्त्र र गुटरहित उम्मेदवार
कुनै राजनीतिक दलको सदस्य नभएको र गुटबन्दीको राजनीतिमा सहभागी नभएको बताउँदै डा. दाहालले आफूलाई ‘स्वतन्त्र उम्मेदवार’का रूपमा परिचय दिनुहुन्छ । उहाँका अनुसार, “संस्थाको भविष्य व्यक्तिगत वा राजनीतिक स्वार्थभन्दा माथि छ ।”
पारदर्शी निर्वाचनको पक्षमा
विगतका केही निर्वाचनमा मताधिकार दुरुपयोग, अनधिकृत मतदान र नतिजा प्रभावित पार्ने गतिविधि भएको स्मरण गर्दै उहाँले यसपटक फेस भेरिफिकेसन प्रणाली अनिवार्य गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँको भनाइमा, “हार–जित लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक हिस्सा हो, तर प्रक्रिया निष्पक्ष र विश्वासिलो हुनुपर्छ ।” डा. दाहाल भन्नुहुन्छ, यो हाम्रो साझा संस्था हो । यसको भविष्य हाम्रो हातमा छ । आउनुहोस्, एकता, पारदर्शिता, जवाफदेहिता र सेवामूलक संस्कारमा फर्काऔं ।” वरिष्ठ उपाध्यक्षका लागि डा. पर्शुराम दाहाललाई प्रवासी नेपाली समुदायको एकताबद्ध, इमानदार र अनुभवी नेतृत्वको रूपमा प्रस्तुत गरिएको छ ।





