About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

दमक, २८ साउन
झापाको दमकमा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाको २९ औं वार्षिकोत्सव तथा ३१ औं साधारणसभा आजबाट सुरु भएको छ । संस्थाले इकाई तथा सेवा केन्द्रस्तरमा साधारणसभा सुरु गरेको हो । विभिन्न १३ स्थानमा सेवा केन्द्रगत साधारणसभा सम्पन्न भएपछि भदौ १२ गते माइन्युट प्रमाणिकरण साधारणसभा गर्ने कार्यक्रम रहेको सहकारीले जनाएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै अध्यक्ष नारायणप्रसाद भट्टराईले सहकारीको गत आर्थिक वर्ष २०८१÷०८२ मा ६ करोड ५७ लाख १४ हजार रुपैयाँ नाफा आर्जन भएको जानकारी दिनुभयो । हाल संस्थाको शेयर पुँजी ३९ करोड ७० लाख १७ हजार ३ सय रुपैयाँ पुगेको छ भने कुल वासलात ४ अर्ब ५३ करोड ७९ लाख ३९ हजार ८ सय १६ रुपैयाँ रहेको उहाँले बताउनुभयो ।
झापा, मोरङ र इलाममा गरी १२ वटा सेवा कार्यालयमार्फत सञ्चालनमा रहेको सहकारीमा १७ हजार ८१७ जना शेयर सदस्य छन् । शेयर सदस्यलाई जन्मदेखि मृत्युसम्मका ३० वटा शीर्षकमा सुविधा प्रदान गर्दै आएको मेची सहकारीले यस वर्ष सेवा सुविधा थप गरेको छ । संस्थाले सदस्यका छोराछोरीले सहकारी विषयमा विद्यावारिधी गर्दा एक लाख अध्ययन खर्च दिने, संस्थाको कार्यक्षेत्रभित्रका सदस्यका छोराछोरीले एसईईमा जिल्ला प्रथम भएमा ५० हजार रुपैयाँ उपलब्ध गराउने, एसईईमा ४ जिपिए ल्याएमा उच्च शिक्षाका लागि २५ हजार सहयोग उपलब्ध गराउने, एकल (विधुवा) महिला सदस्यलाई शेयर बोनस ४ हजार प्रदान गर्ने योजना ल्याएको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत खोम बगालेका अनुसार सहकारीले “मेची सहकारी जल उद्योग” दर्ता गरी उद्योग निर्माण र मेशिनरी जडानको काम भइरहेको छ । उद्योग सञ्चालनका लागि यस आर्थिक वर्षमा ३ करोड ५० लाख रुपैयाँ लगानी गर्ने तयारी गरिएको छ । त्यस्तै, ‘मेची सहकारी आवास २’ का लागि जग्गा खरिदमा ५ करोड रुपैयाँ, सहकारी विद्यालय सञ्चालनका लागि २ करोड रुपैयाँ, जग्गा लिजमा लिएर फलफूलजन्य खेतीका लागि २ करोड रुपैयाँ तथा उर्लाबारी चोकस्थित संस्थाको जग्गामा व्यवसायिक भवन निर्माणका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय