About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

– मोनिका रेग्मी
आफ्नै जीवनबाट सिके किताबले नसिकाएको पाठ
यो मनले भन्यो, “तैले केर्नैपर्छ आफ्ना मनका भाव”
हो पनि धेरै त होइन अलिअलि त मैले पनि लेखेकी छु
जीवनका उतारचढावहरूलाई मैले नजिकबाट देखेकी छु ।

पागल ! पागलको संज्ञा दिन्छन् मलाई कोही मित्र
कोही व्यङ्ग्य त कोही व्याख्या गर्छन् मेरो सतचरित्र
आज लेख्नु छ, केवल लेख्नु, मेरै बारेमा लेख्नु
हरेक जनको नजरबाट आफूले आफैंलाई छ देख्नु ।

साँच्चै ! कस्तो छु म ?
कसैले वर्णन गरे जस्तो ?
सानो आँखा अनि सानै केस
कालो ओठले जनाएको अलक्षिनी परिवेश

रुखो बोली स्थिरता गुमाएकी नारी
संस्कार बिर्सी अनेकसँग बोल्ने, नराम्रो बानी
कुनै पर्वमा छैन कुनै उमङ्ग
नरूप न त राम्रो नै छ ढङ्ग ।

के यस्तै छु म ?
साँच्चै ! कस्तो छु म ?
कसैले वर्णन गरेजस्तो ?
चहकिला आँखा अनि लहलहाउँदो केश
ओठ मुस्काउँदा मुहार टल्केको परिवेश
सुशील बानी र आकर्षक बाणी
कोसँग कति बोल्ने ?, बुझेकि नारी
मिलेको रूपसँग सुहाउँदो रङ्ग
खोट खोज्न नपर्ने मिलेका अङ्ग
गर्व गर्न लायककी छे, गर्छे मान सम्मान
मनमा पाप नदेख्दा सन्तुष्ट छ जहान ।
के यस्तै छु म ?
साँच्चै ! कस्तो छु म ?
कसैले वर्णन गरे जस्तो ?
चन्चल स्वभाव मनमा उर्लिएको बाढी

दिल र दिमाग सम्झाउँदै आँखाका सपना मारी
अरुको हितमा तत्पर रहने
जसले जे जति भनेपनि हाँसेरै सहने
हरेकसँग हाँसी बोल्ने अद्भुत उसको बानी

मनमा पीडा तनमा मुस्कान मुस्कानको सुनामी ।
के यस्तै छु म ?
साँच्चै ! कस्तो छु म ?
कसैले वर्णन गरेजस्तो ?
खैर… यस्तै छु म….।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय