About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

तिलक नेपाली, उर्लाबारी
आर्थिक रूपमा कमजोर वर्गको उत्थान तथा वित्तीय पहुँच सुनिश्चित गर्न सक्रिय सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विगतदेखि नै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको छ । मुख्य कार्यालय बिर्तामोड, झापामा रहेको यस संस्थाले हाल मंगलबारे सेवा केन्द्रमार्फत मोरङ जिल्लाको उर्लाबारी र मिक्लाजुङ क्षेत्रमा सेवा दिदै आएको छ।
वि.सं. २०५२ सालमा स्थापना भएको सहारा नेपालले आफ्ना शेयर सदस्यहरूलाई समूह जमानी तथा धितोमा निश्चित ब्याजदरमा ऋण उपलब्ध गराउँदै आएको छ । तर यस संस्थाको विशेषता केवल ऋण–सहयोगमा सीमित छैन । यसले जीवन बीमा, पशु बीमा, वित्तीय साक्षरता अभियान, मृत्यु राहत कोष, सुत्केरी भत्ता, अपरेशन तथा दुर्घटना खर्च, सर्पदंश उपचार र प्राकृतिक विपत्तिमा आर्थिक सहयोग जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
यसैक्रममा, उर्लाबारी–४ बक्राहाबाँधमा एक महिला सदस्यको श्रीमानको निधनपश्चात् सहकारीले रु ४ लाख ४० हजार रुपैयाँ सहयोग गरेको छ । समूह नं. ५५ को जुनेली सहारा महिला समूहकी सदस्य चन्द्रकला झागरका श्रीमान् हरि झागरको निधन भएपछि उक्त सहयोग गरिएको हो । आज एक कार्यक्रमबीच उर्लाबारी–४ का वडाध्यक्ष कल्याणकुमार राईले चेक हस्तान्तरण गरे ।
सो अवसरमा वडा अध्यक्ष राईले सहारा नेपालले विपत्का समयमा सदस्यहरूलाई साँचो अर्थमा “सहारा” दिएको भन्दै यसको प्रयासलाई प्रसंसा गरे । “सहकारी भनेको सहकार्य र आपसी सहयोग हो, सहाराले त्यसको राम्रो अभ्यास गरिरहेको छ,” वडाध्यक्ष राईले भने । कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै मंगलबारे सेवा केन्द्रका प्रमुख त्रिलोचन तिम्सिनाले सहकारीले सामाजिक पक्षलाई समेट्दै आर्थिक सशक्तिकरणका लागि समेत बिभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।
सहारा नेपालले बचत गर्ने बानी विकास गर्नदेखि लिएर वित्तीय शैक्षिक कार्यक्रमसम्म विस्तार गरेको छ, जसले ग्रामीण तथा विपन्न वर्गमा आर्थिक चेतना र आत्मनिर्भरताको भावना विकासमा टेवा पुगेको छ । स्थानीय तह, समूह सदस्य, कर्मचारी तथा सरोकारवाला निकायसँग सहकार्य गर्दै सहारा नेपालले आगामी दिनमा अझ विस्तारित, समावेशी र सेवामूलक सहकारीको रूपमा आफूलाई प्रस्तुत गर्ने विश्वास लिएको तिम्सिनाले बताए । जुनेली सहारा महिला समूहका अध्यक्ष शान्ति नेपालीको अध्यक्षतामा भएको कार्यक्रम मंगलबारे सेवा केन्द्रका प्रतिनिधि प्रकाश श्रेष्ठले सञ्चालन गरेका थिए । कार्यक्रममा वडा सदस्य शेखरनाथ दाहाल, स्थानीय अगुवा, सहकारीका कर्मचारी, समूहमा आवद्ध महिलाहरुको उपस्थिति रहेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय