उर्लाबारी, १० साउन
रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ को स्वच्छ वातावरण अभियान अन्तर्गत उर्लाबारीमा आज वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ उर्लाबारी र रोट्रयाक्ट क्लब अफ उर्लाबारीको संयुक्त आयोजनामा उर्लाबारी –२ सुनझोडामा वृहत वृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो ।
रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानको स्वच्छ वातावरण अभियान अन्तरगत ५० हजार बिरुवा राप्ने लक्ष्य अनुरुप उर्लाबारीले २ सय बिरुवा रोपेको रोटरी क्लब अफ उर्लाबारीका अध्यक्ष सूर्यकुमार पौडेलले जानकारी दिनुभयो ।
सब डिभिजन वन कार्यालय मंगलबारेको सहकार्यमा सुनझोडास्थित काली मन्दिर परिसर र सुनझोडा माविको कम्पाउण्डबाहिर सडक किनारमा बिरुवा रोपिएको उहाँले बताउनुभयो । पर्यावरण संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउन र यस क्षेत्रको सौन्दर्य बढाउन योगदान हुने भएकोले स्थानीयको सहकार्यमा बिरुवाको संरक्षण गरिने सुनझोडा माविका प्रधानाध्यापक समेत रहनुभएका रोटरी क्लब अफ उर्लाबारीका पूर्वअध्यक्ष मुकुन्द निरौलाले बताउनुभयो । सो अवसरमा रोटरी क्लब अफ उर्लाबारीका संस्थापक अध्यक्ष विष्णु ओली, पूर्वअध्यक्षहरु सुरेन्द्र सुवेदी, भुवन श्रेष्ठ, राजेश महेश्वरीलगायत पदाधिकारी, रोट्याक्ट क्लब अफ उर्लाबारीका पदाधिकारी, पूर्वअध्यक्षहरु, सदस्यहरु, स्थानीयबासीको उल्लेख्य सहभागिता रहेको थियो ।




