About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ५ साउन
मोरङको उर्लाबारीमा टर्मिनलसहितको आधुनिक बसपार्क निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ । वडा नं. ६ मा निर्माण हुने बसपार्कको नगर प्रमुख गङ्गाप्रसाद खरेलले आज शिलान्यास गर्नुभयो ।
कार्यक्रममा नगर उपप्रमुख मीना खतिवडा पौडेल, प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ता, वडाध्यक्षहरु चिन्तामणि पौडेल, तिलक पाण्डे, नरबहादुर मोक्तान, उर्मिला थापा, सव डिभिजन वन कार्यालय उर्लाबारीका प्रमुख नवीनराज दाहाल, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक रञ्जन बराललगायत राजनीतिक दलका प्रतिनिधि, जग्गादाता तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।
बसपार्क निर्माणको जिम्मा पाएको अभि डिजाइनर्स एण्ड डेभलपर्स प्रालिले ११ करोड तीन लाख ८५ हजार आठ सय ८० रुपैयाँमा निर्माण कार्य सम्पन्न गर्नेछ । सम्झौता अनुसार आयोजना १८ महिनाभित्र सम्पन्न गर्नुपर्नेछ । आयोजना उर्लाबारी नगरको ६० प्रतिशत ऋण, ३० प्रतिशत आन्तरिक लगानी र १० प्रतिशत नगर विकास कोषको अनुदानबाट निर्माण भइरहेको हो । नगर प्रमुख खरेलले स्रोत सुनिश्चित भएकाले निर्धारित समयभित्रै सुविधासम्पन्न बसपार्क निर्माण हुने विश्वास व्यक्त गर्नुभयो ।
नगर प्रमुख खरेलले नगरको सौन्दर्यीकरण र समग्र यातायात व्यवस्थापनका लागि यो आयोजना ‘गौरवको आयोजना’का रूपमा अघि बढाइने बताउनुभयो । नगर उपप्रमुख मीना खतिवडा पौडेलले बसपार्क बनेसँगै सवारी साधनहरुको अव्यस्थित पार्किङको समस्या सधैँका लागि समाधान हुने बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ताले उर्लाबारी बसपार्क ‘गेमचेन्जर’ परियोजना भएको बताउनुभयो । स्थानीयको आर्थिक विकासको मुख्य आधार सडक र यातायात नै भएको जनाउदै बसपार्कले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नयाँ आयोजना अन्तर्गत टर्मिनल भवन, रनवे, सपोर्टवाल, ड्रेन, मुख्य राजमार्गदेखि बसपार्क जोड्ने कालोपत्रे पहुँचमार्ग, स्थानीय तथा लामो दूरीका सवारी साधनका लागि पार्किङ क्षेत्र, प्रतीक्षालय, लगायतका पूर्वाधार निर्माण गरिने अभि डिजाइनर्स प्रालिका निर्देश नवीन गौतमले बताए । यसअघिका संरचनामध्ये केही सामान्य मर्मतपछि पुनः प्रयोगमा ल्याइने तयारी छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय