उर्लाबारी ३२ असार
उर्लाबारीकै पुरानो निजी कलेज नेपाल दर्शन कलेजले विद्यार्थीका लागि करियर काउन्सिलिङ कार्यक्रम सम्पन्न गरेको छ । नेपाल दर्शन कलेजमा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई लक्षित गरी अभिमुखीकरण र करियर काउन्सिलिङ गरिएको हो ।
कार्यक्रममा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई कलेजका बारेमा जानकारी दिनुको साथै कसरी अध्ययन गर्दा उत्कृष्ट नतिजा ल्याएर उत्कृष्ट हुन सकिन्छ भन्नेदेखि कलेजको नियमको बारेमा जानकारी गराइएको थियो । नयाँ विद्यार्थीलाई अविर र खादा लगाई स्वागत समेत गरिएको कार्यक्रममा कलेजका भाइस प्रिन्सिपल दुर्गाप्रसाद पौडेलले सहजीकरण गर्नुभएको थियो ।
उहाँले कलेजमा दक्ष तथा अनुभवी शिक्षकहरुबाट पठनपाठन हुने जानकारी दिँदै अतिरिक्त क्रियाकलापको साथै विद्यार्थीहरुको शैक्षिक विकासमा कलेज सधैँ लागि पर्ने जनाउनुभयो । उहाँले विद्यार्थीहरूलाई भविष्यको सम्भावना, स्पष्ट लक्ष्य निर्धारण र अध्ययनप्रति प्रेरित गर्ने विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो रुचि, क्षमता र अवसरबीच सन्तुलन कायम गर्दै सशक्त निर्णय लिन मार्गदर्शन गरेको उहाँले बताउनुभयो ।
अभिमुखीकरण कार्यक्रमबाट सहभागी विद्यार्थीहरू उत्साहित देखिएका थिए । उनीहरूले यस्तो प्रकारको मार्गदर्शनले आफ्नो भविष्यप्रति थप स्पष्टता आएको बताए । सो अवसरमा कलेजकी प्रिन्सिपल सविना खड्काले भन्नुभयो, “सही समयमा प्राप्त सही मार्गदर्शनले नै सही भविष्य निर्माण गर्छ” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै यस कार्यक्रमको आयोजना गरिएको हो ।
वर्तमान समयमा युवा पुस्ताहरु आफ्नो भविष्यको लक्ष्य निर्धारण गर्न नसक्दा अथवा त्यसका लागि सही परामर्श र साथ नपाउँदा दिन प्रतिदिन मानसिक रुपमा कमजोर हुँदै जाने प्रवृति बढ्दो रुपमा रहेको बताउँदै प्रिन्सिपल खड्काले यसै अवस्थालाई मध्यनजर गर्दै कलेजले समय समयमा उत्प्रेरणा तथा परामर्शमको कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको जनाउनुभयो । कक्षा ११ मा नयाँ भर्ना भएका करिब दुई सय जना विद्यार्थी सहभागी कार्यक्रममा कलेजका कोअर्डिनेटर गोविन्द भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियो ।




