About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २१ असार
यस क्षेत्रकै नमुना माध्यमिक विद्यालय उर्लाबारी–६ स्थित राधिका माविले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्तीर्ण हुने विद्यार्थीहरूलाई विशेष सम्मान गरेको छ । आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरी एसईईमा उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीलाई सम्मान गर्नुका साथै जिपिए ३.६ भन्दा माथि ल्याउने ३८ जना मेधावी विद्यार्थीलाई जनही पाँच हजार रुपैयाँ नगदसहित सम्मान प्रदान गरेको छ । यो सम्मानका लागि विद्यालयले जम्मा एक लाख ९० हजार रुपैयाँ खर्च गरेको छ ।
विद्यालयबाट साधारण तथा प्राविधिक धार गरी ३ सय १० जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए, जसमा २५४ जना विद्यार्थी उत्तीर्ण भएका छन् । राधिकाका दुई विद्यार्थी रुवेश न्यौपाने र सुसान्त चम्लागाईंले ३.९६ जिपिए प्राप्त गर्दै उर्लाबारी प्रथम बनेका छन् ।
सम्मान कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिका शिक्षा शाखाका प्रमुख तथा उपसचिव शालिग्राम काफ्लेले सामुदायिक विद्यालयहरूले समेत प्राविधिक शिक्षासहितको गुणस्तरीय शिक्षा दिन थालेको उल्लेख गर्दै राधिका माविको प्रशंसा गर्नुभयो । “शिक्षामा सुधारका लागि यस्ता प्रोत्साहन कार्यक्रमहरू आवश्यक छन्,” उहाँले भन्नुभयो, “राधिकाले जस्तो उदाहरणीय कार्य अन्य विद्यालयहरूले पनि अनुकरण गर्नु जरुरी छ ।”
सो अवसरमा विद्यालयका प्रधानाध्यापक कुमार पोख्रेलले राधिका माविले गुणस्तरीय शिक्षामा जोड दिँदै आएको बताउनुभयो । विद्यार्थीहरुको हौसला र उत्साह बढाउन सम्मान कार्यक्रम राखिएको उहाँले बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका विद्यालय व्यवस्थापन समिति अध्यक्ष लोलिम पोमू लिम्बूले विद्यालयको प्रगतिका लागि सबैको सहकार्य आवश्यक रहेको बताउँदै राधिका माविलाई उत्कृष्ट बनाउन लागि परेको बताउनुभयो । उहाँले एसईई उत्तीर्ण विद्यार्थीलाई थप शैक्षिक सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
राधिका मावि यस क्षेत्रकै उत्कृष्ट सामुदायिक विद्यालयको रूपमा परिचित छ । नियमित शैक्षिक अनुगमन, दक्ष जनशक्ति, सूचना प्रविधिको उपयोग, प्राविधिक शिक्षा, विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको विद्यालयमा दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय