
उर्लाबारी, ११ असार
मोरङको लेटाङ नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८२।०८३ को बजेट पास गरेको छ । मंगलबार बसेको १७ औं नगरसभामा नगर उपप्रमुख कृष्णकुमारी निरौलाले प्रस्तुत गर्नुभएको ६१ करोड ६ लाख २८ हजार २ सय रुपैयाँको बजेट पारित भएको हो ।
आज पत्रकार सम्मेलन गरी बजेटका विशेषताका बारेमा जानकारी गराइएको छ । सो अवसरमा नगर प्रमुख भूपेन्द्र लावतीले चालु खर्चमा मितव्ययिता र विकास कार्यहरुलाई प्राथमिकता दिँदै यथार्थपरक आधारहरुमा आय र व्ययको अनुमान गरिएको बताउनुभयो । नगरको सर्वाङ्गीण विकास गर्न निम्न उद्देश्य तथा प्राथमिकताका आधारमा वार्षिक नीति, बजेट तथा कार्यक्रम तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।
नगर प्रमुख लावतीले वार्षिक नीति तथा कार्यक्रमका मूलभूत विशेषताहरु, बजेटका सिद्धान्तहरु, बजेट तथा कार्यक्रमका प्राथमिकताहरु बारे जानकारी गराउनुभयो । नगरसभाबाट आर्थिक विधेयक, २०८२, विनियोजन विधेयक २०८२, ज्येष्ठ नागरिक संरक्षण विधेयक २०८२, लेखा समितिको प्रतिवेदन २०८२, न्यायिक समतिको प्रतिवेदन २०८२ पारित भएको छ ।
आगामी आर्थिक वर्ष २०८२।०८३ को विनियोजित बजेटमध्ये चालु खर्चतर्फ ४२ करोड १७ लाख ६० हजार ४ सय र पुँजीगततर्फ १८ करोड ८८ लाख ६७ हजार ८ सय रहेको छ । आगामी आर्थिक वर्षको अनुमानित आयतर्फ आन्तरिक आय २ करोड ७२ लाख ३५ हजार, स्थानीय दहत्तर बहत्तर बाँडफाँट २ करोड १० लाख, अनुमानित मौज्दात सर्ने २ करोड ५० लाख, राजश्व बाँडफाँट नेपाल सरकार ११ करोड ८३ लाख २२ हजार २ सय, राजश्व बाँडफाँट प्रदेश सरकार ८७ लाख ५० हजार, स्थानीय राजश्व मालपोत बाँडफाँट १ करोड २५ लाख, रोयल्टी मनोरञ्जन कर १२ लाख ५० हजार, वित्तीय समानिकरण संघीय १२ करोड २० लाख, वित्तीय समानिकरण प्रदेश १ करोड १० लाख ३६ हजार, संघीय समपूरक अनुदान १ करोड, प्रदेश समपूरक अनुदान ८० लाख, संघीय विशेष अनुदान ६९ लाख, संघीय शसर्त अनुदान २२ करोड ६१ लाख, प्रदेश शसर्त अनुदान ९० लाख ३५ हजार, उपभोक्ता समिति साझेदारी ३५ लाख रुपैयाँ रहेको छ ।
व्ययतर्फ आर्थिक विकासमा ४ करोड ३२ लाख १६ हजार २ सय, सामाजिक विकासमा २६ करोड ७५ लाख १ हजार २ सय, पूर्वाधार विकासमा १४ करोड ५० लाख २७ हजार ८ सय, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ३ करोड ८३ लाख ८३ हजार, कार्यालय सञ्चालन तथा विविधतर्फ ११ करोड ६५ लाख अनुमान गरिएको छ ।
नगरपालिकाले शिक्षा विकासतर्फ १ करोड ८३ लाख रुपैयाँ विनियोजन गरेको छ । जसमा चालु १ करोड ५१ लाख र पुँजीगत ३२ लाख रहेको छ । शिक्षालाई प्राथमिकता दिइएको बजेटमा डिजिटल प्रविधिको प्रयोग अभिवृद्धि गर्न स्मार्टबोर्ड वितरण, विद्यालय पूर्वाधार निर्माण, मर्मत, रंगरोगन तथा सुधार, अभिभावक शिक्षा कार्यक्रम, कक्षा १० को परीक्षामा सहभागी विद्यार्थीलाई वृत्ति परामर्श, शैक्षिक प्रदर्शनी र उपचारात्मक सिकाइ वृद्धिका लागि सिकाइ क्याम्प, बालिका शिक्षा बचत, माध्यमिक छात्रवृत्ति कार्यक्रमको निरन्तरता, उच्च शिक्षा संस्थागत अनुदान र छात्रवृत्तिलगायतमा खर्च गरिने नगर प्रमुख लावतीले बताउनुभयो ।
पत्रकार सम्मेलनमा उपप्रमुख निरौला, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदी, वडा नं. २ का वडाध्यक्ष तेजप्रसाद तिम्सिना, शिक्षा शाखा प्रमुख कृष्णराज राईलगायतको उपस्थिति रहेको थियो ।
