
उर्लाबारी, १० असार
मोरङका स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । कोशी प्रदेशको एक मात्र महानगरपालिका विराटनगरले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ४ अर्ब ४० लाखको बजेट प्रस्तुत गरेको छ । महानगरपालिकाको १६ औं नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको तुलनामा ५० करोड ९ लाख १४ हजार बढीको बजेट प्रस्तुत गरिन् ।
बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च ६४ करोड ७५ लाख, पूर्वाधार विकासतर्फ कुल १ अर्ब ६८ करोड ८३ लाख १३ हजार, वडा कार्यालयतर्फ वडास्तरीय योजना तथा कार्यक्रम सञ्चालनका लागि ४३ करोड ५६ लाख ३२ हजार विनियोजन गर्नु भएको छ । विषयगत क्षेत्रमध्ये सामाजिक विकासतर्फ १ अर्ब ८९ लाख ३० हजार, आर्थिक विकास क्षेत्रतर्फ कृषि विकास कार्यक्रमका लागि १ करोड ५ लाख, पशुपंक्षी तथा भेटनरी कार्यक्रमका लागि ८५ लाख २५ हजार, सहकारीतर्फ २४ लाख, उद्यमशिलता विकासतर्फ ४७ लाख, उपभोक्ता हित संरक्षणतर्फ १० लाख, पर्यटन प्रवद्र्धनतर्फ २५ लाख गरी आर्थिक विकासतर्फ २ करोड ९६ लाख २५ हजार विनियोजन गरिएको छ । वन वातावरण तथा विपद व्यवस्थापनतर्फ ३ करोड १० लाख, सुशासन तथा संस्थागत विकासतर्फ ३ करोड ३० लाख बजेट विनियोजन गरिएको छ ।
यस्तै, उर्लाबारी नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि १ अर्ब १८ करोड ४० लाख ५४ हजार ५ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । १४ औं नगरसभामा उपप्रमुख मीना खतिवडा पौडेलले आगामी वर्षको बजेट प्रस्तुत गरेकी हुन् । सो बजेटअनुसार प्रशासनिक खर्चमा १६ करोड २५ लाख, सामाजिक विकासमा ३५ करोड ७८ हजार ५ सय, आर्थिक विकासमा ३ करोड ६१ लाख, पूर्वाधार विकासमा ४८ करोड ८८ लाख २ हजार, वातावरण, विपद् तथा जलवायु क्षेत्रमा ६६ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १ करोड ७७ लाख ५२ हजार, वडा समितिका लागि ९ करोड तथा वडा सञ्चालन र प्रशासनिक खर्चका लागि ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ । बजेटका स्रोतमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानमार्फत ६६ करोड ९० लाख, प्रदेश सरकारबाट ४ करोड ५० लाख ४६ हजार, राजस्व बाँडफाँटबाट १९ करोड ८५ लाख ८ हजार ५ सय, आन्तरिक स्रोतबाट १६ करोड ५० लाख, अन्य संघ÷संस्था अनुदानबाट ६५ लाख, जनसहभागिताबाट २ करोड तथा सार्वजनिक ऋणमार्फत ८ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।
यस्तै, रतुवामाई नगरपालिकाले १६ औं नगरसभामार्फत आर्थिक वर्ष २०८२÷०८३ को लागि ८३ करोड ८५ लाख ११ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । उपप्रमुख दमयन्तादेवी चुडालले प्रस्तुत गरेको बजेटमा कृषि, स्वास्थ्य, शिक्षा एवं पूर्वाधार विकास र युवा उद्यमलाई प्राथमिकता दिदै नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेकी छिन् । चालु आर्थिक वर्षमा रतुवामाईको बजेट ७८ करोड ९० लाख ३३ हजार रहेको थियो ।
मोरङकै सुन्दरहरैँचा नगरपालिकाले १ अर्व ७१ करोड २७ लाख ५९ हजार १ सय ८० रुपैयाँको बजेट ल्याएको छ । नगरपालिकाको १६ औं नगर अधिवेशनमा नगर उपप्रमुख अकली चौधरीले बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा पूर्वाधार विकासतर्फ ६१ करोड ३७ लाख, आर्थिक विकासतर्फ २ करोड ८६ लाख, सामाजिक विकासतर्फ ४६ करोड १२ लाख २ हजार, वन तथा वातावरण, विपत व्यवस्थापनमा १ करोड ७५ लाख, सुशासन संस्थागत विकासतर्फ २ करोड ६३ लाख, बहुबर्षीय क्रमागत आयोजना कार्यान्वयनका लागि ६ करोड ३ लाख, वडागत सिलिङ बजेट १८ करोड ३६ लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ३८ करोड ६२ लाख विनियोजन गरिएको छ ।
यस्तै, बेलबारी नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि १ अर्ब ९ करोड ४५ लाख ४७ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको छ । नगरपालिकाको १६ औँ नगरसभामा उपप्रमुख नितु थापा कोइरालाले सो बजेट प्रस्तुत गरेकी हुन् ।
यस्तै, लेटाङ नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६१ करोड छ लाख २८ हजार दुई सय रुपैयाँको बजेट ल्याएको छ । लेटाङ नगरपालिकाको १७ औँ नगरसभामा नगर उपप्रमुख कृष्णकुमारी निरौलाले बजेट तथा कार्यक्रम प्रस्तुत गरिन् । प्रस्तुत बजेटमध्ये चालुतर्फ ४२ करोड १७ लाख ६० हजार चार सय र पुँजिगततर्फ १८ करोड ८८ लाख ६७ हजार आठ सय रुपैयाँ विनियोजन गरिएको छ ।
उता, मोरङको मिक्लाजुङ गाउँपालिकाको आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । गाउँपालिकाको १६ औँ गाउँसभाले नीति तथा कार्यक्रम र कुल ७९ करोड ९२ लाख ४९ हजार ८ सय ७० रुपैयाँ बराबरको बजेट प्रस्तुत गरी सर्वसम्मतले पारित गरेको हो । गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेलले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपद लगायतको विषयलाई समेटेर प्रस्तुत गरेको नीति तथा कार्यक्रम समेत सर्वसम्मत पारित भएको हो । बजेटमा विभिन्न स्रोतबाट प्राप्त हुने आय विवरण पनि सार्वजनिक गरिएको छ । आन्तरिक आयतर्फ १० करोड ६२ लाख ६८ हजार ८३० रुपैयाँ, राजस्व बाँडफाँटबाट प्राप्त हुने आय १३ करोड १२ लाख १ हजार ५०६ रुपैयाँ, स्थानीय स्रोतबाट मालपोत, विज्ञापन कर, नदीजन्य पदार्थ उत्खनन आदिबाट १३ करोड ९८ लाख १० हजार ६३ रुपैयाँ, प्रदेश सरकारबाट प्राप्त हुने राजस्वबाट सवारी कर तथा मूल्य अभिवृद्धि कर मार्फत झण्डै १ करोड ५५ लाख रुपैयाँ र संघीय सरकारबाट प्राप्त अनुदानबाट वित्तीय समानीकरण, सशर्त, समपुरक र विशेष अनुदानसहित ठूलो हिस्सा रहेको छ । बजेटमा संघीय सशर्त अनुदान चालुतर्फ २३ करोड ६० लाख र संघीय वित्तीय समानीकरण अनुदानतर्फ ११ करोड २५ लाख विनियोजन गरिएको छ ।
यस्तै, मोरङको धनपालथान गाउँपालिकाले ५९ करोड रुपैयाँको बजेट ल्याएको छ । आगामी आर्थिक वर्षका लागि धनपालथान गाउँपालिकाको १६ औं गाउँ अधिवेशनबाट ५९ करोड १८ लाख ७३ हजार ३ सय ११ रुपैयाँ बजेट ल्याइएको हो ।
