
उर्लाबारी, ९ असार
राधिका पोएट आइडलको उपाधि तृप्ती भण्डारीले जितेकी छिन् । उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयको बाल क्लबको आयोजनामा भएको प्रतियोगितामा उर्लाबारी–७ स्थित पशुपति आमाविकी छात्रा तृप्ती प्रथम भएकी हुन् ।
उर्लाबारी नगरपालिकाका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सिर्जनशीलतालाई प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको राधिका पोएट आइडल सिजन १ मा राधिका माविका किस्मत बास्तोला दोस्रो र सोही विद्यालयका प्रतीक थुलुङ राई तेस्रो भए । पोएट आइडलका लागि सहभागी ४८ जना विद्यार्थी मध्ये विभिन्न चरण पार गरेर १० जना फाइनल राउण्डमा प्रवेश गरेका थिए ।
प्रतियोगिताको फाइनल आज सम्पन्न भएको हो । उर्लाबारी वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौड्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोलिम पोमू लिम्बू, प्रधानाध्यापक कुमार पोख्रेल, शिक्षक महासंघ उर्लाबारीका अध्यक्ष मणिराज दाहाललगायतको आतिथ्यता रहेको थियो । फाइनलमा साहित्यकारत्रय कृष्ण उदासी, सुमन मेवाहाङ र मुना आत्रेय निर्णायक रहनुभएको थियो ।
यो कार्यक्रमले उर्लाबारी क्षेत्रमा रहेका विद्यार्थीहरुको साहित्यिक सृजना अन्तरगत कविता लेखनमा आधारशिला बन्न सक्ने विश्वास लिइएको राधिका माविका शिक्षक तथा कार्यक्रम संयोजक यज्ञ परिश्रमीले बताउनुभयो ।
