About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ७ असार
राधिका माध्यमिक विद्यालय उर्लाबारी–६ को आयोजनामा सञ्चालित प्रश्नपत्र निर्माण तथा विश्लेषण सम्बन्धी तीन दिवसीय कार्यशाला गोष्ठी आज सम्पन्न भएको छ । कार्यशालामा नगरका सामुदायिक विद्यालय कक्षा ८ सम्म अध्यापनरत १ सय ७४ शिक्षक शिक्षिकाको सहभागिता रहेको थियो ।
गोष्ठीको पहिलो दिन कक्षा १–३ अध्यापन गराउने ३५ जना शिक्षकशिक्षिकाहरुको सहभागितामा कार्यक्रम सञ्चालन गरियो । दोस्रो र तेस्रो दिन कक्षा ४–८ अध्यापनरत १ सय ३९ जना शिक्षकका लागि विषयगत प्रशिक्षकहरुले प्रत्येक विषयका छुट्टाछुट्टै समूहमा सहजीकरण गरेका थिए । नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक विषयका विज्ञ प्रशिक्षकबाट प्रश्नपत्र निर्माण र विश्लेषणका विषयमा सहजीकरण भएको थियो ।
आज गोष्ठी समापन कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव शालिग्राम काफ्लेले प्रश्नपत्र निर्माण जटिल विषय भएको बताउनुभयो । ‘प्रश्नपत्र निर्माणमा ज्ञान, बोध, प्रयोग, उच्च दक्षतालाई ख्याल गर्नुपर्छ’ उहाँले भन्नुभयो, ‘विशिष्टीकरण तालिकाको प्रयोग, स्तर पहिचान लगातिका विषय पनि महत्वपूर्ण छन् ।’ शिक्षकको दक्षता विकासका लागि नगरपालिकाले पनि विभिन्न तालिमका कार्यक्रम सञ्चालन गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा शिक्षक तालिम केन्द्र इनरुवाका प्रमुख गोपाल दाहालले तालिम केन्द्रले शिक्षकको क्षमता विकासका लागि गर्दै आएका कार्यहरुका बारेमा जानकारी गराउनुभएको थियो । गोष्ठीमा सहभागी शिक्षकहरुले तालिम निकै फलदायी भएको भन्दै आयोजक विद्यालयलाई धन्यवाद ज्ञापन गरेका थिए ।
राधिका माविले नमुना विद्यालय अन्तर्गत यो कार्यक्रम आयोजना गरेको प्रधानाध्यापक कुमार पोख्रेलले बताउनुभयो । शिक्षकहरूलाई प्रश्नपत्र निर्माण, त्यसको मूल्याङ्कन तथा विश्लेषण सम्बन्धी सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको उहाँले बताउनुभयो । यसबाट सामुदायिक विद्यालयहरूमा एकरुपता ल्याउने, परीक्षा प्रणालीमा सुधार ल्याउने र विद्यार्थीको सिकाइ परिणाम सुधारमा टेवा पुग्ने विश्वास गरिएको प्रधानाध्यापक पोख्रेलले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य तीर्थराज अधिकारीको अध्यक्षतामा भएको समापन कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष गणेश दुलालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय