About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ७ असार
उर्लाबारी नगरपालिकाले जस्ताको छानोसहितको पक्की घर बनाइदिएपछि वडा नम्बर ४ का मजदुर दम्पती पौलाई र ममता पौद्धार परिवारमा खुसियाली छाएको छ । तीनजना छोराछोरीका साथ बक्राहा बाँधडाँडामा झुपडी बनाएर बस्दै आएका पौद्धार दम्पतीले कष्टसाध्य जिन्दगी गुजार्दै आएका थिए ।
उर्लाबारी नगरपालिकाको वृहत परियोजनस्थल ‘बक्राहा विष्णु गंगा घाट’को मुख्य मार्गमै बसोबास गर्दै आएका परिवारलाई त्यहाँबाट स्थानान्तरण गर्नुपर्ने भएपछि नजिकै नयाँ घर निर्माण गरी हस्तान्तरण गरिएको हो । नयाँ घर पाएपछि पौलाईकी श्रीमती ममताले जीवनभरिको सपना पूरा भएको बताइन् । ‘नगरपालिकाले घर बनाइदिएकामा हामी अहिले धेरै खुसी छौं’ ममताले भनिन्, ‘घाट जाने ठाउँबाट हट्ने अवस्थामा हाम्रो आफ्नो भन्ने केही रहेन भन्ने पीर थियो तर अहिले नगरपालिकाले घर दिएको छ ।’
शुक्रबार एक कार्यक्रमका बीच नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेलसहित ४ नम्बर वडाध्यक्ष कल्याण राईलगायत जनप्रतिनिधिले पौद्धार दम्पतीलाई नयाँ घर हस्तान्तरण गरेका छन् । उर्लाबारी नगरपालिकाबाट विनियोजित ५ लाखसहित प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कार्यस्थलमा आधारित सीप, क्षमता तथा जीपनपयोगी तालिम लिएका २६ जना प्रशिक्षार्थीहरुले घर निर्माणमा श्रम गरेको नगरपालिकाकी रोजगार शाखा प्रमुख विनिता शर्माले जानकारी दिइन् । उनका अनुसार वैदेशिक रोजगार बोर्डले प्रदान गरिएको पेन्टर र इलेक्ट्रिसियन तालिमका प्रशिक्षार्थीबाट नवनिर्मित घरमा रंगरोगन, वायरिङका काम गरिएको छ । नगरपालिकाले पौद्वार परिवारको घर बनाउन उपभोक्ता समितिलाई जिम्मा दिएको थियो । लामो समयदेखि कष्टकर जीवन बिताउन बाध्य भएका परिवारको समस्या हल गर्न पाएकामा आफूलाई निकै आन्नदित महसुस गरेको घर निर्माण समितिका संयोजक उर्लाबारी ४ का विष्णु श्रेष्ठले बताए । नगर प्रमुख गंगाप्रसाद खरेल तथा उपप्रमुख माीना खतिवडा पौडेलले रिबन काटेर साँचो दिई पौद्धार परिवारलाई घर हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा बोल्दै नगर प्रमुख खरेलले सम्भाव्यता अध्ययन गरी विपन्न नागरिकका पुराना तथा भत्किने अवस्थाका घर हटाएर नयाँ निर्माण गर्दै जाने नगरपालिकाको अभियान रहेको बताए । यसअघि नगरका विभिन्न वडामा गरी दशवटा घर हस्तान्तरण गरिएको उनले बताए । कार्यक्रममा उपप्रमुख मीना पौडेल, ४ नम्बर वडाध्यक्ष कल्याणकुमार राईले पनि मन्तव्य राखेका थिए । वडा सदस्य अमृता दासले संचालन गरेको कार्यक्रममा कार्यपालिका सदस्य कृष्णमाया कडरिया, शेखरनाथ दाहाल, सुरेन्द्र न्यौपाने, रोजगार संयोजक विनिता शर्मालगायत स्थानीयवासीको उपस्थिति रहेको थियो । ५ धुर क्षेत्रफलको जग्गामा तीन कोठे घर बनाइएको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय