About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २४ जेठ
मोरङको रतुवामाई नगरपालिकाको आयोजनामा तथा नोबेल मेडिकल कलेज, विराटनगरको प्राविधिक सहयोगमा सञ्चालन गरिएको तीनदिने निःशुल्क वृहत स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ । नगरवासीको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै आयोजना गरिएको यस शिविरले उल्लेखनीय सफलता प्राप्त गरेको छ ।
शिविरको पहिलो दिन रतुवामाई नगर अस्पताल, झुर्कियामा शिविर सम्पन्न भयो भने दोस्रो दिन सौंठा बहुमुखी क्याम्पस परिसरमा र तेस्रो दिन सर्वेश्वर शिवालय मन्दिर, भौडाहामा सेवा प्रदान गरियो । यसरी फरक–फरक स्थानमा शिविर सञ्चालन गरिनुले विभिन्न टोल–टोलका नागरिकलाई सेवा लिन सहज भएको थियो ।
स्वास्थ्य शिविरमा मेडिसिन, सर्जरी, प्रसूति तथा स्त्रीरोग, बालरोग, नेत्ररोग, हाडजोर्नी, नाक–कान–घाँटी, मुटुको जाँच (इसीजी), प्रयोगशाला (रगत तथा पिसाब परीक्षण), रेडियो डायग्नोसिस तथा दन्त चिकित्सा लगायतका सेवा उपलब्ध गराइएको थियो ।
तीन दिनसम्म सञ्चालन भएको उक्त शिविरबाट कुल १४०३ जना नागरिकले सेवा लिएका छन् । विभिन्न उमेर समूहका व्यक्तिहरूले शिविरमा उपस्थित भई स्वास्थ्य परीक्षण गराएका थिए । परीक्षणको क्रममा जटिल अवस्थाका बिरामीहरूको उपचार नोबेल अस्पताल, विराटनगरमा ५० प्रतिशत छुटमा र काठमाडौँ मेडिकल कलेज, काठमाडौंमा पूर्णरूपमा निःशुल्क गरिने व्यवस्था गरिएको नगर प्रमुख नागेश्वरप्रसाद सिंह गनगाईँले बताउनुभयो ।


उहाँले यस्तो शिविरले सर्वसाधारणको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै भन्नुभयो, “हामी नगरवासीको स्वास्थ्यप्रति संवेदनशील छौं। यस्ता शिविरहरूलाई निरन्तरता दिने हाम्रो प्रतिबद्धता छ । सबै नागरिकसम्म गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउनु नै हाम्रो लक्ष्य हो ।’ यस किसिमको शिविरले ग्रामीण भेगमा रहेका तथा नियमित स्वास्थ्य परीक्षणबाट वञ्चित नागरिकलाई राहत दिने विश्वास व्यक्त गरिएको छ । रतुवामाई नगरपालिकाले आगामी दिनमा पनि यस्ता जनमैत्री कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर