
उर्लाबारी, १५ जेठ
उर्लाबारी नगरपालिका १ नं. वडा कार्यालयले पूर्वजनप्रतिनिधिलाई सम्मान गरेको छ । प्रजातन्त्र पुनस्र्थापनापछि २०७४ सम्म निर्वाचित जनप्रतिनिधिलाई बुधबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो ।
उर्लाबारी वडा नं. १ साविक मधुमल्ला गाविसका वडा नं. ७, ८ र ९ मिलेर बनेको वडा हो । ती तीन वटै वडामा २०४९ र २०५४ को स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधि र २०७४ को निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको वडाध्यक्ष तिलक पाण्डेले बताउनुभयो । सम्मानित हुनेहरुमा ६ जना पूर्व वडाध्यक्ष छन् । साविक मधुमल्ला गाविस वडा नं. ७ का पूर्व वडाध्यक्ष नरबहादुर चौहान र भुपाल गौतम, वडा नं. ८ का पूर्व वडाध्यक्ष खडीबहादुर बोहोरा, वडा नं. ९ का पूर्व वडाध्यक्ष भीम श्रेष्ठ र भीमबहादुर श्रेष्ठ, उर्लाबारी–१ मा २०७४ मा निर्वाचित वडाध्यक्ष मचिन्द्रकुमार कार्की सम्मानित भए । यस्तै, पूर्व वडा सदस्यहरु मोहनकर्ण श्रेष्ठ, गम्भीर प्रधान, लेखनाथ पौडेल, राधिका चौहान, वीरबहादुर माझी, मानबहादुर श्रेष्ठ, मदनकुमार राई, पुष्पा भट्टराई, मणिकुमार राई र इन्द्रबहादुर श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरियो ।
कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल र विशेष अतिथि उप–प्रमुख मीनाकुमारी खतिवडा पौडेल, वडाध्यक्ष पाण्डेले उहाँहरुलाई सम्मान गर्नुभयो । कार्यक्रमका वक्ताहरूले पूर्व जनप्रतिनिधिहरूको योगदानले वर्तमान विकासको जग तयार भएको बताएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख खरेल, उपप्रमुख पौडेल, बुद्धिजीवी एवम् पूर्व शिक्षक गोपाल भट्टराई, पूर्व वडाध्यक्ष मचिन्द्रकुमार कार्की, पूर्व वडासदस्य राधिका चौहान लगायतले मन्तब्य राखेका थिए । वडाध्यक्ष पाण्डेले यस किसिमको सम्मानले समाजमा सकारात्मक सन्देश पु¥याउने, पुराना नेतृत्वको योगदानप्रति कृतज्ञता प्रकट गर्ने र नयाँ पुस्तालाई सामाजिक उत्तरदायित्वप्रति प्रेरित गर्ने बताए ।
