
उर्लाबारी, ३ जेठ
जननेता मदन भण्डारीको जन्म वि.सं. २००९ साल आषाढ १४ गते ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा भएको थियो । पिता देवीप्रसाद भण्डारी र माता चन्द्र कुमारीको कोखबाट माहिला सन्तानको रूपमा उनको जन्म भएको थियो । मदन भण्डारीले प्रारम्भिक शिक्षा गाउँबाटै शुरु गरेका थिए । मदन भण्डारी तिक्ष्ण बुद्धिका धनी थिए । त्यसैले त अप्ठेरा पाठहरू पनि दुई पटक पढेपछि सधैँका लागि कण्ठ गर्न सक्ने क्षमता राख्थे । अक्षर चिन्न भर्खर शुरु गर्दा नै चण्डी कण्ठाग्र गर्दा उनी जिल्लाभर चर्चित थिए ।
भण्डारीले वि.सं. २०२३ मा गाउँको पढाइ पूरा गरेका थिए । वि.सं. २०२४ सालमा उनको परिवार ताप्लेजुङबाट मोरङको इटहरामा बसाइसराइ गरेको थियो । पछि उनी भारतको मथुरामा अध्ययन गर्न गएका थिए । दुई वर्ष मथुरामा अध्ययन पूरा गरेपछि वि.सं. २०२८ मा बनारस पुगेका भण्डारीले वि.सं. २०३३ सालमा बनारस विश्वविद्यालयबाट भाषा साहित्यमा स्नातकोत्तर उत्तीर्ण गरेका थिए । वि.सं. २०२८ सालमा पुष्पलालसँगको भेटपछि उनी राजनीतिमा लागेका थिए । वि.सं. २०२९ सालमा पुष्पलालको पार्टीले जनवादी सांस्कृतिक मोर्चाको निर्माण गर्दा भण्डारी केन्द्रीय सदस्य बनेका थिए । वि.सं. २०३० सालमा पार्टीको पूर्णकालीन कार्यकर्ता भए । बनारसमा हुँदा संगठित रूपमा क्रियाशील राजनीतिज्ञसँग नजिक हुने मौका पाएका थिए । वि.सं. २०३३ सालमा मुक्तिमोर्चा समूहको निर्माण गरिएको थियो । त्यसको निर्माणमा सक्रिय रहेका नेताहरू पुष्पलालको पार्टीसँग विद्रोह गरी वि.सं. २०३४ सालमा नेकपा (माले) को स्थापना हुनुभन्दा पूर्वको अर्डिनेशन केन्द्रमा आवद्ध भई मुक्तिमोर्चा समूहलाई नै त्यसमा विलय गराइएको थियो ।
वि.सं. २०३५ सालमा नेकपा (माले) स्थापना भयो र मदन भण्डारी केन्द्रीय सदस्य बनेका थिए । उनी वि.सं.२०३९ सालमा विद्या पाण्डे भण्डारीसँग वैवाहिक बन्धनमा बाँधिएका थिए । विद्यादेवी भण्डारी पूर्व राष्ट्रपति हुन् । उनीहरूको कोखबाट दुई छोरी (उषाकिरण र निशाकुसुम) जन्मिएका थिए । वि.सं. २०४१ साल वैशाखमा भण्डारी पार्टीको पोलिटब्युरो सदस्य र वि.सं. २०४६ सालमा नेकपा (एमाले) को चौँथो महाधिवेशनमा महासचिव बनेका थिए । वि.सं. २०४७ सालमा भूमिगत जीवनबाट बाहिर आई माले माक्र्सवादी एकीकरणबाट उनी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माक्र्सवादी–लेनिनवादी) को महासचिव बनेका थिए । वि.सं. २०४८ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् अन्तरिम प्रधामन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरी भण्डारी काठमाडौं क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
जीवनका लागि सिद्धान्त होइन सिद्धान्तका लागि जीवन हुनपर्छ, पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक गुण होइन, सिद्धान्तलाई व्यवहारमा लागू गरिदैन । वचन अनुसार काम गरिदैन र नाराहरुलाई कार्यरुप प्रदान गरिदैन भने तिनीहरुको दुई पैसाको पनि मोल हुँदैन, आत्मालोचनाले केवल नम्रतालाई मात्र जाहेर गर्दैन कामलाई योग्यतापूर्वक सम्पादन गर्नका निम्ति आफ्नै विगतबाट सिक्ने महत्वपूर्ण अवसर पनि प्रदान गर्छ, अनुशासन विनाको स्वतन्त्रता स्वेच्छाचारिता हुन्छ र स्वतन्त्रता विनाको अनुशासन निंरकुशता हुन्छ, क्रान्ति यतास्थितिको मात्रात्मक विकल्प मात्र होइन त्यो गुणात्मक विकल्प हो र राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन भन्ने उनका भनाइ नेपाली समाजमा निकै चर्चित छन् ।
त्यस्तै काग कराउँदै गर्छ हात्ती हिड्दै गर्छ, पिना सुक्दै गर्छ, राजा मान सम्मानलाई उपभोग गर्दै किनारमा बसिबक्सियोस् महाराज हात नलम्काइ बक्सियोस्, प्रजा नचम्काइ बक्सियोस् आफ्ना सन्डमुसन्डहरुलाई नचलाइबक्सियोस्, यदी सन्डमुसन्डलाई चलाउने हो भने यदी सन्डमुसन्डाई नै अगाडि ल्याउने हो भने महाराजले पनि श्रीपेच उतारेर सिंहासनमा राखेर मैदानमा नेता बनेर आउनु प¥यो र साहित्यमा प्रयोग हुने सिंहावलोकन । सिंहावलोकन भनेको सिंहले चार पाइला हिड्छ रे यस्सो पछाडि फर्किए र हेर्छ रे कहिँ बेठिक त भइरहेको छैन जस्ता भाषण निकै चर्चित थिए ।
उनले नेपालमा कम्युनिष्ट आन्दोलनलाई प्रजातान्त्रिक बाटोमा हिँडाउन अतुलनीय योगदान पु¥याएका थिए । उनले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन संकटमा परेका बेला जनताको बहुदलीय जनवाद (जबज) को नेपालमा आधारस्तम्भ निर्माण गरेका थिए । जुन जबज माक्सवार्दको नेपाली संस्करण थियो । विश्व प्रसिद्ध पत्रिका न्यूज व्हीकले छापेको मदन भण्डारीको अन्तवार्तामा ‘इन नेपाल माक्स लिभ्स’ अर्थात नेपालमा कालमाक्स जीवित छन् भनेर उल्लेख गरेको थियो । वि.सं २०४९ सालमा तत्कालीन नेकपा एमालले आयोजना गरेको नेपाल कम्युनिष्ट पार्टीको पाँचौ राष्ट्रिय महाधिवेशनमा जनताको बहुदलीय जनवाद नेपाली कम्युनिष्ट आन्दोलनको रुपमा प्रस्तावित गरिएको थियो । मदन भण्डारीलाई विश्व तथा नेपाली कम्युनिष्ट आन्दोलनमा लाग्नेहरुले आफ्नो आदर्श पुरुषका रुपमा लिँदै आएका छन् ।
बहुदलीय जनवादको व्याख्या गर्ने एवं नेकपा एमालेका महासचिव जननेता मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको वि.सं. २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा कार दुर्घटनामा रहस्यमय निधन भएको थियो । दुर्घटना पछि जीवराज आश्रितको गाडीमै मृत अवस्थामा शव भेटिएको थियो भने मदन भण्डारीको घटनास्थलदेखि धेरै तल पश्चिम चितवनको गाजिपुर भन्ने ठाउँमा शव फेला परेको थियो । नेकपा एमाले कास्कीको जिल्ला अधिवेशन सकेर चितवनको चैनपुरमा जेठ २ देखि शुरु भएको अखिल नेपाल महिला संघको केन्द्रीय भेलालाई सम्बोधन गर्न आउने क्रममा दासढुङ्गामा कार दुर्घटनामा परेको थियो । सो घटनाको छानबिन गर्न धेरै आयोग बनाइए पनि वास्तविकता अहिलेसम्म पनि बाहिर आउन सकेको छैन । नेपाली समाजको वास्तविकतालाई जनबोलीमा मिसाएर बोल्न सक्ने मदन भण्डारी नेपालीका सामू मिठो बोलि बोलेर घण्टैसम्म भीडलाई आफूतिर तान्न सक्ने नेताको रुपमा परिचित थिए । बोल्ने कलामा उनको जस्तो खुवी नेपाली कुनै पनि नेताको नभएको भन्ने गरिन्छ ।
नेपाली राजनीतिका शिखर पुरुष मदन भण्डारीको अवसान नेपाली राजनीतिकै लागि अपुरणीय क्षति हो । देशको राजनीतिमा धेरै मान्छे आउँछन् र जान्छन् । इतिहासले ती मध्येका केही केही मानिसलाई मात्र स्मरणयोग्य बनाउँछ । इतिहासले स्मरणयोग्य बनाउने नेतामध्येकै एक नेता हुन मदन भण्डारी । भण्डारीको सिर्जनात्मक माक्सर्वाद सम्बन्धी धारणाले विश्व जगत नै प्रभावित छ । मदन भण्डारीले प्रतिपादन गरेको जनताको वहुदलीय जनवाद (जबज) अहिलेको नेपालको विशेष परिस्थितिमा व्यवहारिक बनाउन सक्नुपर्छ । अनि मात्र उनीप्रतिको सच्चा सम्मान हुनेछ ।
