
उर्लाबारी, ३१ वैशाख
सरकारले निजी तथा संस्थागत विद्यालयको छात्रवृत्ति वितरणको लागि मापदण्ड तोके पनि अधिकांश विद्यालयले त्यसको कार्यान्वयन गरेका छैनन् । स्थानीय तहले नियमित अनुगमन र नियमन नगर्दा निजी तथा संस्थागत विद्यालयले छात्रवृत्ति वितरणमा मनोमानी गर्दै आएका छन् ।
तर, उर्लाबारीस्थित एक निजी विद्यालयले मापदण्ड अनुरुप छात्रवृत्ति वितरण गर्दै आएको छ । उर्लाबारी–४ स्थित सप्तकोशी अङ्ग्रेजी माध्यमिक विद्यालयले सरकारले तोकेको नियमानुसार छात्रवृत्ति वितरण गरेको हो । निजी तथा संस्थागत विद्यालयले गरिब, जेहेनदार, दलित, असहाय, अपाङ्गता भएका, जनजाति, द्वन्द्वपीडित लगायतका विद्यार्थीहरूलाई निश्चित कोटामा छात्रवृत्तिमा पढाउनुपर्ने कानुनी व्यवस्था अनुरुप उक्त विद्यालयले लाखौं रुपियाँ छात्रवृत्ति रकम प्रदान गरेको हो ।
विद्यालयमा एक कार्यक्रमको आयोजना गरी ११० जना विद्यार्थीलाई २२ लाख ६४ हजार ७ सय १ रुपियाँ छात्रवृत्ति प्रदान गरिएको छ । विद्यालयका संस्थापक÷प्रिन्सिपल लेखनाथ भट्टराई र विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष मिश्र वैजयन्तीले अभिभावकाको उपस्थितिमा विद्यार्थीलाई छात्रवृत्ति रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो । सो अवसरमा प्रिन्सिपल भट्टराईले ११० जना विद्यार्थीलाई १० प्रकारका छात्रवृत्ति वितरण गरिएको बताउनुभयो ।
उर्लाबारीको अब्बल विद्यालय सप्तकोशीले लाखौं रुपियाँ छात्रवृत्ति रकम वितरण गरेपछि अभिभावकहरु उत्साहित भएका छन् । ‘निजी विद्यालयले रकम लिने मात्र गर्छ भन्ने सोचाइ आम मानिसमा रहेको छ’ उर्लाबारी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष समेत रहेका उक्त विद्यालयका अभिभावक ज्ञानकुमार श्रेष्ठले भन्नुभयो, ‘तर, सप्तकोशीले मापदण्ड अनुरुप लाखौं रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरेको छ । यसले विद्यार्थी र अभिभावकमा हौसला थपेको छ ।’
‘पछिल्लो समय धेरै विद्यालयहरुमा विद्यालय सञ्चालकका छोराछोरी, आफन्तका छोराछोरी, जनप्रतिनिधि र नेताहरूका छोराछोरीलाई समेत छात्रवृत्तिको नाममा निःशुल्क पढाउने गरिएको छ । कानुनले व्यवस्था गरेका लक्षित वर्गका बालबालिकाले पाउनुपर्ने सुविधा पहुँचवालाहरूको पोल्टामा पुगेपछि लक्षित वर्ग मर्कामा परेका छन् ।’ एक अभिभावकले भने, ‘सप्तकोशी बोर्डिङले यी सबै वेथितिलाई चिर्दै असल कार्य गर्दै आएको छ । त्यसैले नै यो विद्यालय अभिभावकको रोजाइमा परेको हो ।’
सरकारी नीति, नियम अनुसार विद्यालयले विद्यार्थी भर्नासँगै छात्रवृत्ति सूचनासमेत प्रकाशन गर्नुपर्ने हुन्छ । सूचना प्रकाशन पछि प्राप्त निवेदनका आधारमा परीक्षालगायत अन्य प्रक्रिया पूरा गरी छात्रवृत्ति पाउने विद्यार्थीहरूको नाम तोक्नुपर्ने व्यवस्था छ । यसरी छात्रवृत्ति पाउने विद्यार्थीको नामावली प्रत्येक विद्यालयले सूचना पार्टीमा टाँस गर्नुपर्छ । यो नियमको पालना उर्लाबारी र आसपासका निजी विद्यालयले कमै मात्र गरेका छन् । तर, सप्तकोशी बोर्डिङले यी सबै प्रक्रिया पूरा गरेर छात्रवृत्ति वितरण गरेको प्रिन्सिपल भट्टराईले बताउनुभयो ।
२०५० सालमा स्थापना भएको सप्तकोशी बोर्डिङ स्कुलमा नर्सरीदेखि कक्षा १२ सम्म एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । गुणस्तरीय शिक्षामा अब्बल यो विद्यालयले एसएलसी र एसईईमा वर्षेनि उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको छ ।
