
दुर्गा नारायण खतिवडा (विवेक)
कानेपोखरी, ३१ वैशाख
मोरङको कानेपोखरी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई ४ सय ५८ थान कृषि सामग्री वितरण गरेको छ । कानेपोखरी–६ स्थित रमाइलोमा रहेको पुरानो गाउँपालिकाको भवनमा कृषि तथा सिँचाइ यन्त्र उपकरण वितरण कार्यक्रममा किसानहरूले माग गरेअनुसारको कृषि सामग्री वितरण गरिएको हो ।
गाउँपालिकाले ४ सय ६० थान सामग्री खरिद थियो । खरिद गरेकोमा २ थान कस्लाइ दिने भनेर निर्णय गर्न बाकी रहेको छ । कृषि शाखा प्रमुख रोजिना भट्टराईका अनुसार पालिकाले बिडिएस नेपाल कम्पनीसँग ५५ लाख ९५ हजार ६ सय १८ रुपियाँमा सामग्री खरिद गरेको थियो । जसमा पालिकाको २७ लाख ९७ हजार ८ सय ९ रुपियाँ र त्यति नै रुपियाँ किसानको रहेको छ ।
वितरण गरिएका सामग्रीमा चार्जवाला टु इन वान स्प्रे ट्याङ्की १ सय २५ थान, मकै छोडाउने मेसिन १ सय ५ थान, मकै रोप्ने मेसिन ५० थान, कुटानी पिसानी कम्बाइन्ड मिल १४ थान, पानी तान्ने १ एचपिको मोटर १० थान, पानी तान्ने २ एचपिको मोटर १२४ थान र सबमर्सिबल पम्प मेसिन ३० थान छन् ।
वडा १ का कृषकले १ सय २५ थान, २ का कृषकले ९६ थान, ३ मा ७७ थान, ४ मा २६ थान, ५ मा ९२ थान, ६ मा ३७ थान र ७ मा १३ थान सामग्री वितरण गरिएको शाखा प्रमुख भट्टराईले बताइन् । आर्थिक विकास समितिका संयोजक सुशील बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नामको प्रमुख आतिथ्यता रहेको थियो । विशिष्ट अतिथि उपाध्यक्ष भोलाप्रसाद अधिकारी र अतिथिमा वडाअध्यक्षहरू रत्नबहादुर कार्की, गोपाल कार्की र चरण गुरुङ रहेका थिए ।
कार्यक्रममा पालिका अध्यक्ष इङ्नामले मन्तव्य राख्दै पालिका अध्यक्षमा ताराबहादुर काफ्ले हुँदादेखि नै कृषकलाई अनुदानमा कृषि सामग्री वितरण गर्दै आएको बताइन् । उनका अनुसार उक्त समयमा अनुदानमा दिएको सामग्री कृषकहरूले महँगो मूल्यमा बेचबिखन गरेको पाइएको थियो । यसपटक पालिकाले अनुदानमा वितरण गरेको सामग्री बेचबिखन नगरी सही सदुपयोग गर्न उनले किसानहरूलाई आग्रह समेत गरेकी थिइन् ।
