
उर्लाबारी, १३ वैशाख
उर्लाबारी–६ स्थित कुडोस सेन्ट्रल स्कुलका विद्यार्थी सुहान पाण्डेको स्वर रहेको ‘घाम सम्झिए आमा’ बोलको गीत विमोचन गरिएको छ । कक्षा ८ मा अध्ययनरत पाण्डेको गीत आज उर्लाबारीमा आयोजित एक कार्यक्रममा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामले विमोचन गर्नुभयो ।
राष्ट्रिय संगीतकर्मी संघ, कोशी प्रदेश समितिद्वारा अरनिको माध्यमिक विद्यालयमा आयोजित स्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रममा गीत विमोचन गरिएको हो । विमोचनमा संगीतकर्मी संघ कोशीका अध्यक्ष लिलानाथ पौडेल, संगीत संयोजनकर्ता कृष्णभक्त राई, बाल गायक सुहान पाण्डे सहभागी हुनुहुन्थ्यो । गीतमा शब्द र संगीत गोविन्द खड्काको रहेको छ । ‘घाम सम्झिए आमा’ गीत मातातिर्थ औंशीको अवसर पारेर भोलि युट्युवमा सार्वजनिक गरिने विद्यालयका प्रिन्सिपल सूर्य पौडेलले जानकारी दिनुभयो ।
