
ताप्लेजुङ, १३ वैशाख
ताप्लेजुङको मैवाखोला गाउँपालिकाका सबै वडा कफी खेतीका लागि उपयुक्त रहेको एक अध्ययनले निष्कर्ष निकालेको छ । चिया तथा कफी विकास बोर्ड, चिया विस्तार योजना लालीखर्च पाँचथरले गरेको सम्भाव्यता अध्ययनमा पालिकाका छ वटै वडा कफी खेतीका लागि उपयुक्त रहेको निष्कर्ष निकालेको हो ।
गाउँपालिकाले स्थलगत अध्ययनका लागि अनुरोध गरेपछि बोर्डका कार्यालय प्रमुख फूलमाया आङ्बो र कृषि प्राविधिक कमल पहराईले स्थलगत अध्ययन गरी उक्त निष्कर्ष निकालेको गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो । विज्ञहरुको अध्ययन र सुझाब बिना जथाभावी लगानी गर्दा त्यसको प्रतिफल नआउने र किसानहरु उल्टै निराश हुने अवस्था आउन नदिन विज्ञसँग परामर्श मागेको उहाँले बताउनुभयो ।
अध्ययन प्रतिवेदन अनुसार वडा नं. १ को तेल्लाबुङ, वडा नं. २ को तेम्बे टोल, हात्ती खावा (बाटोमुनि हाङ्थाना तल्लो भाग), वडा नं. ३ को माङ्हिम टोल, भट्टराई टोल, वडा नं. ४ को रिफाइले जाने घिमिरे टोलदेखि बाटोमुनिको क्षेत्र, वडा नं. ५ को नुमलोक फाकुम्बा, घोडेटार र वडा नं. ६ को हाङ्फाबुङ, साङलुपा क्षेत्र कफी खेतीका लागि उपयुक्त मानिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा कफी खेतीका लागि उपयुक्त मिल्दो जुल्दो भुगोल, हावापानी, माटो र अन्य विशेषता भएका धेरै स्थानहरु मैवाखोला गाउँपालिकामा रहेको उल्लेख छ ।
अध्यक्ष वनेमले कफीको बजार नेपालसहित विश्वभर रहेको बताउँदै कृषकहरुलाई कफी खेतीको लागि आवश्यक छहारी लगायतको तयारी गरी व्यवसायिक कफी खेती सुरुवात गर्न अनुरोध गर्ने बताउनुभयो । कफी खेतीका लागि पालिकाले आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो ।
