
उर्लाबारी, १२ वैशाख
उर्लाबारीमा भर्खरै सम्पन्न मेयर कप वडास्तरीय फुटबल प्रतियोगिताको विजेता वडा नं. १ को टिमलाई सम्मान गरिएको छ । झारसाँदी बोर्डिङ स्कुल उर्लाबारी–१ ले बधाई तथा सम्मान कार्यक्रम आयोजना गरी खेलाडीहरुलाई नगदसहित सम्मान गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज पोख्रेलको अध्यक्षता र वडाध्यक्ष तिलक पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विजेता टिमका खेलाडीहरुलाई खदा, अविर लगाएर मायाको चिनो प्रदान गरिएको थियो । साथै विद्यालयले विजेता टिमलाई नगद १० हजार ५ सय ५५ रुपैयाँ प्रदान गरेका छ ।
प्रमुख अतिथि वडाध्यक्ष पाण्डेसहित विद्यालयका प्रिन्सिपल दिनेश पोख्रेलले खेलाडीहरुलाई सम्मान गर्नुभएको हो । प्रिन्सिपल पोख्रेल र वडाध्यक्ष पाण्डेले बधाई मन्तव्य राख्दै पहिलो पटक मेयर कपको उपाधि जित्न सफल भएकोमा वडाका खेलाडीलगायत सिंगो टिमलाई बधाई ज्ञापन गर्नुभयो । विजेता टिमका केही खेलाडी झारसाँदी बोर्डिङका पूर्व विद्यार्थीहरु पनि रहेको पोख्रेलले बताउनुभयो ।
कार्यक्रम अघि विद्यालयका कोअर्डिनेटर सागर राईसहित स्काउटका विद्यार्थीहरुले मार्चपाससहित खेलाडीहरुलाई वडा कार्यालयबाट विद्यालयसम्म ल्याएका थिए । मेयर कपको विजेता टिमलाई वडा कार्यालयले पनि सम्मान गरेको छ ।
