
ताप्लेजुङ, ८ वैशाख
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सबै वडामा कानुनी सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाल बार एशोसिएसन ताप्लेजुङको सहकार्यमा सञ्चालन गरिएको कार्यक्रममा स्थानीय नागरिकलाई कानुनी अधिकार, कर्तव्य र न्यायप्राप्तिका प्रक्रियाबारे जानकारी गराइएको छ ।
आफ्नो जीवन व्यबहारमा भोगिरहेका कानुनी समस्याहरुको बारेमा नागरिकहरुलाई सचेत गराउन यो कार्यक्रमको मुख्य उद्देश्य रहेको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बताउनुभयो । कार्यक्रमका सहभागीहरुले राखेका जिज्ञासाको बार एशोसिएसनका अधिवक्ताहरुले सहजीकरण गर्नुभएको थियो । गाउँपालिकाका ६ वटै वडामा सञ्चालन गरिएको कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो ।
सो अवसरमा सहजकर्ताहरुले न्यायमा पहुँच सुनिश्चित गर्न कानुनी सचेतनाको महत्व बारे प्रकाश पारेका थिए । गाउँपालिका अध्यक्ष वनेमले कानुनी साक्षरता अभिवृद्धि गर्नु गाउँपालिकाको प्राथमिकता भएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । यस्ता कार्यक्रमबाट समुदायमा कानुनी चेतना अभिवृद्धि गर्न र न्यायकर्ताको पहुँच बढाउन सहयोग पुग्ने विश्वास लिइएको गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक कमलकुमारी लिम्बूले बताउनुभयो ।
यसैबीच, मैवाखोला गाउँपालिकाले मेलमिलाप प्रक्रियामा संलग्न व्यक्तिहरूको क्षमतावृद्धि गर्ने उद्देश्यले मेलमिलापकर्ताहरूका लागि पुनर्ताजगी तालिम सम्पन्न गरेको छ । नेपाल बार एशोसिएसन ताप्लेजुङको सहकार्यमा भएको तीन दिने तालिममा विभिन्न वडाबाट आएका मेलमिलापकर्ताहरूले सहभागिता जनाएका थिए । तालिममा मेलमिलापसम्बन्धी कानुनी प्रक्रिया, विवाद समाधानका विधि, संवाद र सहमतिको कला लगायतका विषयमा सहजीकरण गरिएको थियो । तालिममा सहभागीहरूले प्राप्त ज्ञान र सीप आफूहरुका लागि उपयोगी हुने बताए ।
तालिम समापन कार्यक्रममा प्रमाणपत्र वितरण गर्दै गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले वडा तथा गाउँस्तरमा हुने मेलमिलापलाई प्रभावकारी बनाउन तालिमको आयोजना गरिएको बताउनुभयो ।
