उर्लाबारी, २७ माघ
उर्लाबारीमा सञ्चालन हुने कृषि, औद्योगिक तथा पर्यटन महोत्सवको तयारी तीब्र पारिएको छ । आगामी फागुन १५ देखि २५ गतेसम्म हुने “उर्लाबारी कृषि, औद्योगिक तथा पर्यटन महोत्सव” व्यवस्थापन तथा सञ्चालनका लागि १ सय ५१ सदस्यीय मुल समिति गठन गरिएको छ ।
उर्लाबारी उद्योग वाणिज्य संघको आयोजनामा स्थानीय व्यापार, व्यावसायलाई चलायमान बनाउने उद्देश्यका साथ सञ्चालन हुने महोत्सवको व्यवस्थापनका लागि संघका पूर्वअध्यक्ष चन्द्रबहादुर भट्टराई भरतको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको हो ।
समितिको सह–संयोजकमा निर्वतमान अध्यक्ष शेरबहादुर भण्डारी, सचिवमा सम्झना आचार्य, सहसचिव हेमराज गुरुङ र कोषाध्यक्षमा विकास बुढाथोकी रहेका छन् । पदाधिकारीसहित सुनिल बोहोरा, राजकुमार श्रेष्ठ, विक्रम चापागाई, चन्द्रकला खड्का, केशव भट्टराई, नेत्र आपागाई, निरु चौहान रहेको कार्यसम्पादन समिति गठन भएको छ ।
महोत्सवलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न विभिन्न ८ वटा उपसमिति गठन गरिएको छ । प्रचारप्रसार उपसमितिमा सञ्चार क्लव नेपालका अध्यक्ष कुमार खड्का, स्टल व्यवस्थापन उपसमितिमा केशव भट्टराई, आर्थिक उपसमितिमा विकास बुढाथोकी, महोत्सव एरिया व्यवस्थापन उपसमितिमा मनोज लुईटेल, युवा व्यवस्थापन उपसमितिमा सुनिल बोहोरा, टिकट व्यवस्थापन उपसमितिमा भेषबन्धु निरौला, यातायात व्यावस्थापन उपसमितिमा राजकुमार श्रेष्ठ र अतिथि सत्कारमा चन्द्रकला खड्कालाई संयोजक तोकिएको छ ।
संघका अध्यक्ष तारामान सिरेङका अनुसार महोत्सव उर्लाबारी–४ स्थित नगरपालिकाको कार्यालय दक्षिण पट्टिको खाली जग्गामा लाग्ने भएको छ । महोत्सवमा विशेषगरी आदिवासी फुड स्टल, अटोमोबाईल्स स्टल, दैनिक उपभोग्य बस्तु तथा सेवा, कृिषजन्य बस्तुहरुको विशेष प्रदर्शनी, साना तथा घरेलु उत्पादनहरु, हस्तकलाका उत्पादनहरु, गार्मेन्टबाट उत्पादित बस्तुहरु, शैक्षिक तथा वित्तीय संस्थाहरु, होटल तथा रेष्टुरेन्ट, अटोमोबाईल, फुटवेयर, निर्माण सामग्री, ईलेक्ट्रोनिक्स तथा इलेक्ट्रिक सामग्रीहरु, फर्निचर तथा फर्निसिङका सामग्रीहरु, जडिबुटी तथा औषधीजन्य बस्तुहरु, विभिन्न साँस्कृतिक एवम् मौलिकता झल्किने वस्तुहरुको प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति, बाल उद्यान तथा मनोरञ्जनात्मक खेल तमासाहरु रहने उहाँले बताउनुभयो ।
मूल आयोजक समितिका संयोजक चन्द्रबहादुर भट्टराई भरतका अनुसार १० दिनसम्म सञ्चालन हुने महोत्सवलाई करिव ३ लाखले अवलोकन गर्ने र करिव १५ करोडको कारोबार गर्ने अपेक्षा गरिएको छ । महोत्सवमा १ सय ५० व्यापारिक स्टलहरु रहने प्रचार उपसमिति संयोजक कुमार खड्काले जानकारी दिनुभयो ।




