
उर्लाबारी, २३ फागुन
गुणस्तरीय शिक्षासँगै विद्यार्थीको प्रतिभा उजार गर्न अतिरिक्त क्रियाकलापमा बिशेष जोड दिँदै आएको उर्लाबारी–६ स्थित कुडोस विद्यासदनमा स्पोट्स मिट २०८१ सुरु भएको छ । आज एक कार्यक्रमको आयोजना गरी कुडोस स्पोट्स मिटको सुरुवात गरिएको छ । विद्यालयकी सञ्चालक रन्जु दाहालले बेलुन उडाएर खेलकुद कार्यक्रमको उद्घाटन गर्नुभयो ।
फागुन ४ गतेसम्म दैनिक रुपमा सञ्चालन हुने खेल उत्सवमा नर्सरीदेखि कक्षा ८ सम्मका ३ सय ५० भन्दा बढी विद्यार्थीले सहभागिता जनाउने भएका छन् । सबै विद्यार्थीले कुनै न कुनै प्रतियोगितामा सहभागिता जनाउने भएका हुन् । खेलकुद सप्ताहमा फुटबल, भलिबल, व्याडमिन्टन, दौड, चेस, टेबलटेनिस, बास्केट बल, ट्रेजर हन्ट, म्युजिकल चेयर्स, रिले रेस, बेलुन फुटाइलगायत खेल कक्षागत र सदनगत रुपमा ९१ विधा र तहमा प्रतिस्पर्धा गराइने विद्यालयले जनाएको छ । नर्सरीदेखि कक्षा ८ सम्म कक्षागत र सदनगत प्रतिस्पर्धा गराइने भएको हो ।
अहिलेको २१ औं शताब्दिका बालबालिकालाई सबल, सक्षम र सीपयुक्त बनाउन उनीहरुलाई सैदान्तिक ज्ञानका अलवा प्रयोगात्मक सिकाइ प्रक्रियासँगै अतिरिक्त क्रियाकलापमा अघि बढाउने योजना अनुरुप यस प्रकारको कार्यक्रम सञ्चालन गरिएको विद्यालयका संस्थापक÷प्रिन्सिपल सूर्य पौडेलले बताउनुभयो । विद्यालय तहदेखि नै विभिन्न विधाका खेलाडी पहिचान गरी उनीहरुको प्रतिभा र क्षमतालाई प्रस्फुटन गराउने प्लेटफर्म विद्यालयस्तरीय खेलकुदका कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
कुडोस विद्यासदनले नर्सरीदेखिकै बालबालिकालाई विभिन्न क्रियाकलापमा सहभागिता गराउँदै आएको छ । अहिलेदेखि नै उनीहरुको प्रतिभालाई बुझेर त्यही अनुसार निखार्ने मौका प्रदान गर्न सकिएमा पछि गाउँ, समाज हुँदै राष्ट्रकै नाम र सान राख्न सफल अन्तर्राष्ट्रिय खेलाडी बन्न सक्ने भएकोले प्रतिभा प्रस्फुटनका लागि पनि खेलकुद सप्ताह महत्वपूर्ण रहने प्रिन्सिपल पौडेलले बताउनुभयो ।

‘अतिरिक्त क्रियाकलापले पनि पढाइलाई सहयोग गर्ने ठानेका छौं । प्रत्येक वर्ष खेलकुदका गतिविधि गराउँदै आएका छौं,’ प्रिन्सिपल पौडेलले भन्नुभयो, ‘यसले विद्यार्थीको पढाइसँगै खेलकुद विधामा अब्बल छन् भन्ने सावित गर्दछ ।’ खेलकुद सप्ताहका हरेक विधामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थी तथा टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिने विद्यालयले जनाएको छ ।