
विराटनगर, २३ माघ
नेकपा एमाले मोरङको १० औँ अधिवेशन सम्पन्न गर्नका लागि १० वटा उपसमिति गठन गरिएको छ । अधिवेशनलाई भव्य, सभ्य र व्यवस्थित बनाउनका लागि जिल्ला कमिटीले उपसमिति गठन गरी जिम्मेवारी तोकेको हो ।
एमाले मोरङको १० औं अधिवेशन आगामी फागुन १७ देखि १९ गतेसम्म विराटनगरमा हुँदैछ । जसका लागि मूल व्यवस्थापनको जिम्मा जिल्ला संगठन कमिटीलाई दिइएको छ । यस्तै, आर्थिक व्यवस्थापन उपसमितिमा राजन भण्डारी, प्रचार प्रसार उपसमितिमा सन्तोष वान्तवा, स्वयंसेवक उपसमितिमा शान्तिकुमारी लिम्बू, मञ्च व्यवस्थापन उपसमितिमा सन्तोष साह, अतिथि सत्कार उपसमितिमा शिल्पा निराला कार्की, राजनीतिक प्रतिवेदन लेखन उपसमितिमा बाबुराम कार्की, सांगठनिक प्रतिवेदन लेखन र प्रतिनिधि व्यवस्थापन उपसमितिमा रविन थापा, खाद्य तथा आवास व्यवस्थापन उपसमितिमा राधेश्याम कट्टेल र स्वास्थ्य उपसमितिमा मनोज विक्रम शाहलाई प्रमुखको जिम्मेवारी तोकिएको छ ।
प्रचारप्रसार उपसमिति प्रमुख सन्तोष वान्तवाले जिल्ला अधिवेशनलाई भव्य बनाउने तयारी गरिएको बताउनुभयो । मंगलबार प्रचारप्रसार उपसमितिको बैठक बसी अधिवेशनको प्रचारलाई व्यवस्थित रुपमा अघि बढाउने निर्णय गरिएको वान्तवाले बताउनुभयो । बैठकमा जिल्ला संगठन कमिटीका अध्यक्ष बाबुराम कार्कीले गठन भएका उपसमितिले जिम्मेवार भएर आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । बैठककमा संगठन कमिटीका सचिव रविन थापा, उपसचिव सोमराज थापा, प्रचारप्रसार उपसमितिका उपप्रमुख मिनकुमार आचार्य, प्रेस चौतारी कोशी प्रदेशका महासचिव बाबुराम भण्डारी लगायतले अधिवेशनका सम्बन्धमा धारणा राख्नुभयो ।
प्रचारप्रसार उपसमितिको बैठकले प्रेस चौतारी नेपाल कोशी प्रदेशको माघ ३० गते र केन्द्रको फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा हुने महाविधेशन सम्पन्न गर्न आवश्यक समन्वय र सहयोग गर्ने निर्णय गरेको प्रमुख वान्तवाले जानकारी दिनुभयो ।
