About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

नवराज भट्टराई, उर्लाबारी
२७ पुस
मोरङको उर्लाबारी–३ सालबारीकी सन्तकला तामाङले अहिले घरको काम गर्न भ्याइनभ्याई छ । उनका श्रीमान् विदेश (साउदी अरब) मा छन् । सन्तकलाले घरमा सँगुर, बाख्रा, कुखुरा पालन गरेकी छिन् । घरव्यवहार चलाउन उनले श्रीमान्को कमाइ पर्खिनु परेको छैन । उनले छ कठ्ठा जग्गामा तरकारी खेती पनि गर्ने गरेकी छिन् ।
यस्तै, घरबाहिर त्यति ननिस्किने उर्लाबारी–५ की विना कालाखेती राई अहिले व्यवसायमा लागेकी छिन् । सोही वडामा रहेको मदन भण्डारी प्रतिष्ठानको स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीमा उनले क्यान्टिन सञ्चालन गर्दै आएकी छिन् । उनका श्रीमान् एक दशकदेखि वैदेशिक रोजगारी (साउदी) मा छन् । श्रीमान्कै कमाइले परिवार चलाउँदै आएकी विनालाई एक वर्षअघि लिएको तालिमले परिवर्तन ल्याइदियो । अहिले परिवार चलाउनका लागि उनले श्रीमान्को मुख ताक्नु परेको छैन ।
सन्तकला र विना प्रतिनिधि पात्र मात्र हुन् । उर्लाबारी नगरपालिकामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले विदेश गएका व्यक्तिहरुका परिवारलाई सञ्चालन गरेको वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षाले धेरै महिलाहरुलाई उद्यममा जोड्ने काम गरेको छ । सन्तकला र विनासहित गत वर्ष उर्लाबारीका वडा नं. २, ३, ४ र ५ का सय जनाले २१ हप्ते वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा लिए । प्रत्येक वडामा अलगअलग भएको कक्षामा सहभागी भएर उनीहरुले परिवार व्यवस्थापन, परिवार निर्माणका विधि, वित्तीय लक्ष्य, पारिवारिक बजेट, विप्रेषणको सदुपयोग, व्यावसायिक योजना, सूचना प्रविधि र उद्यमशीलतालगायतका विषयवस्तुमा जानकारी लिए । कक्षामा बसेपछि उनीहरू श्रीमान्को कमाइको मात्रै भर पर्ने अवस्थाबाट माथि उठ्ने कोसिसमा लागे ।
नेपाल सरकार र स्वीस सरकार बीच भएको दुई पक्षीय सम्झौता अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र उर्लाबारी नगपालिकाको नेतृत्वमा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले महिलाहरुमा यो सुधार ल्याएको हो । सामी कार्यक्रम अन्तरगत वित्तीय साक्षरता, मनोसामाजिक परामर्श, न्यायमा पहुँच, सूचनामा पहुँच, सिपमा पहुँच जस्ता पाँच वटा क्षेत्रमा काम भइरहेको वित्तीय साक्षरता सहजकर्ता तिलक नेपालीले जानकारी दिए ।
यस कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारीका लागि आवश्यक प्रक्रिया तथा कसरी जाने कहाँ जाने जस्ता कुरामा सही सूचना प्रदान गर्नु, विदेशमा जाँदा सीप सिकेर जान सके कमाइ राम्रो हुने तथा सुरक्षित पनि हुने भएकोले सीप पनि प्रदान गर्नु, वैदेशिक रोजगारीमा समस्यामा परेका ब्यक्तिलाई न्यायको खोजी गर्ने माध्यम तथा आवश्यक सम्पूर्ण प्रक्रियाका बारेजमा सूचना दिने साथै बैदेशिक रोजगारीमा भएका परिवारलाई मनोसामाजिक परामर्श दिने गरेको नेपालीले बताए ।
यस कार्यक्रमले वैदेशिक रोजगारीले ल्याएको मानसिक तनाव कम गर्ने, वैदेशिक रोजगारीमा गएका व्यक्तिको गएका परिवारलाई वित्तीय साक्षरता कक्षा सञ्चालन गर्ने गरिएको र उक्त कक्षाले वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणलाई कसरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने, विप्रेषणलाई मात्रै आश नगरी नेपालमा बसेका परिवारले ब्याबसायिक योजना निर्माण गरी विभिन्न व्यवसायहरु सञ्चालन गर्दै अएको उनले बताए ।
वित्तीय साक्षरता परामर्श कक्षामा बाह्य मुलुकमा रहेर कमाएको पैसालाई बचत गर्दै भविष्यका सुरक्षित पार्ने, रोजगारीमा गएका व्यक्ति सम्पर्कमा नआए वा समस्यामा परे कहाँ सम्पर्क गर्ने, वैदेशिक रोजगारीमा रहेका व्यक्तिले प्रयोग गरेका कागजपत्रलाई सुरक्षित राख्ने, पारिवारिक वातावरण कसरी बनाउने, दीगो आर्यआर्जनमा लाग्ने, बीमाले पु¥याउने फाइदा लगायतका विषयमा जानकारी गराउने गरिएको मनोसामाजिक परामर्शकर्ता कल्पना बरालले बताइन् ।
उर्लाबारी नगरपालिकाकी नगर उपप्रमुख मीना खतिवडा पौडेल परामर्श कक्षाले दिएको शिक्षाले आर्थिक मितव्ययीतालाई टेवा पुग्ने भन्दै सीपमूलक कार्यक्रममा सहभागी बन्दै दीगो आयआर्जनको पाटोमा जोडिन आवश्यक रहेको बताउँछिन् । श्रीमान्का विदेशको कमाइमा मात्र भर नपरी महिलाहरुले स्वदेशमै आयआर्जनको बाटो पहिल्याउनु सकारात्मक कदम भएको उनको भनाई छ । गत वर्ष नगरका ४ वटा वडामा कक्षा सञ्चालन गरेको सामीले यस वर्ष वडा नं. १ र ८ मा सुरुआत गरेको छ । ती दुई वडामा ५० जना महिला कक्षामा सहभागी रहेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय