
उर्लाबारी, ४ भदौ
उर्लाबारीका उद्योगी व्यापारीहरूको आव्हान, प्रगतिशील साझा उम्मेद्वारहरुलाई अत्यधिक मतदान भन्ने नारासहित प्रगतिशील समुहका उम्मेद्वार साझा प्रतिबद्धताहरु प्रस्तुत गर्दै मतदाता समक्ष पुग्ने क्रम नियमित कार्य नै बन्न थालेको छ। उनीहरूले मंगलबार पनि उक्त कार्यलाई तिव्रता दिएका छन् ।
भदौ ९ गते हुने उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनको प्रचारमा जुटेका उनीहरुले विभिन्न प्रतिवद्धता प्रस्तुत गरेका छन् । उनीहरुले व्यवसायहरुलाई वर्गिकरण गरी संघमा आवद्ध गर्ने, उर्लावारीका सम्पूर्ण उद्योगी, व्यवसायी र व्यपारीलाई प्रविधिमैत्री अभिलेख तयार गरी छिटो छरितो सेवा प्रदान गर्ने, एकल महिला, अपांगता भएका र जेष्ठ नागरिकहरुलाई २५ प्रतिशत छुटमा सदस्यता प्रदान गर्ने, अनावश्यक चन्दा, चिठ्ठा बन्देज गर्न र बन्द निशेधित घोषणालाई पूर्ण रुपमा कार्यान्वयन गर्ने, उद्योग वाणिज्य संघको पहलमा उज्यालो उर्लावारी कार्यक्रमलाई निरन्तरता दिने, उर्लावारीमा रहेका अनियन्त्रित खुद्रा सब्जि तथा फलफूल व्यापारीहरुको व्यवस्थापन गर्ने बताएका छन् ।
त्यसैगरी व्यवसायी र घरधनी विचका घर बहाल सम्बन्धि समस्या घरधनी र नगरपालिका संग पहल गरी समाधान गर्ने, फोहोर मैला व्यवस्थापनलाई सर्बसुलभ र उचित मूल्यमा समाधान गर्ने, उर्लाबारी क्षेत्रभित्र रहेका प्राकृतिक सम्पदाहरु बनजंगल नदिनालाहरुको सौन्दर्यीकरणका लागि पहल गर्ने, उर्लावारीमा पर्यटकीय स्थलको रुपमा रहेका सिमसार, गुम्बा, मठमन्दिर, आदिको व्यवस्थापनमा नगरपालिकासंग समन्वय गरी पर्यटन विस्तार गर्ने, नगरपालिकासंग समन्वय गरी स्वरोजगार मूलक तालिममा उद्योगी, व्यवसायी र व्यापारीहरुलाई समाहित गराउने, संघमा आवद्ध रहेका उद्योगी, व्यवसायी व्यापारीहरुलाई सुविधा सम्पन्न छुटमा कार्यक्रम संचालनका लागि उपलब्ध गराउने, उर्लावारी नगरीलाई नगरपालिकासंग सहकार्य गरि हरित नगरी बनाउन पहल गर्ने, उर्लावारीमा आन्तरिक राजश्व कार्यलय तथा मालपोल कार्यलयको सेवा संचालनका लागि सम्बन्धित निकाय संग पहल गर्ने कुरा ब्यापारीहरु समक्ष राखेका छन् ।
त्यसैगरी विगतदेखिनै संचालित मृत्यु राहत कोषको सहज व्यवस्थापन गर्दै अझ वृद्धि गर्ने, उद्योगी, व्यवसायी र व्यापारीहरुको भैपरि आउने विपद व्यवस्थापन लाई छुट्टै कोषको व्यवस्थापन गरी राहत दिलाउने जस्ता बिषयमा ध्यान केन्द्रित गरेर अगाडि बढ्ने बताउँदै मतदाताहरुलाई मत दिएर बिजयी गराउन आग्रह गरेको अध्यक्षका उम्मेदवार रामबहादुर थापाले जानकारी दिएका छन्।
