उर्लाबारी, ४ भदौ
उर्लाबारी उद्योग वाणिज्य संघको नेतृत्व हात पार्न उम्मेदवारहरुले आफ्नो प्रचार अभियानलाई तिब्र पारेका छन् । भदौ ८ र ९ गते हुने संघको अधिवेशनमा नयाँ नेतृत्व आफ्नो पक्षमा पार्न उम्मेदवारहरुले प्रचार अभियानलाई तिब्र बनाएका हुन् । उनीहरुले आफ्नो पक्षमा मत माग्न ब्यवसायीहरुको पसल पसलमा पुगेका छन् ।
संघको अध्यक्षका लागि स्वतन्त्र उम्मेद्वारी दिएका विनोद न्यौपाने घरदैलो कार्यक्रममा व्यस्त छन् । आफ्ना चुनावी एजेण्डा व्यापारी, व्यवसायी माझ पुर्याउँदै आफूलाई मतदान गर्न उनले आग्रह गर्दै आएका छन् । न्यौपानेसँगै बरिष्ठ उपाध्यक्ष पदको उम्मेद्वार ज्ञानकुमार श्रेष्ठ पनि मत माग्न व्यस्त छन् । न्यौपाने र श्रेष्ठले संयुक्त अपिल तयार गरी आफ्ना एजेण्डा प्रस्तुत गरेका छन् ।
उनीहरुले हाल रहेको विपत कोषलाई बृद्धि गरी तीन वर्षभित्र एक करोड पु¥याई अक्षयकोषको स्थापना गरी सञ्चालन गर्ने, हाल रहेको मृतक राहत कोष रु २५ हजारलाई बढाइ तीन वर्षभित्र एक लाख पु¥याई संघको विनियम बनाई लागु गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यस्तै, संघको पछाडिपट्टीको जमिनमा अन्डरग्राउण्ड पार्किङसहित तीन तले भवन निर्माण गर्ने, कार्यालय व्यवस्थापनमा समय सापेक्ष अत्याधुनिक प्रविधिको प्रयोग गर्ने, व्यापारीहरुको अभिलेख राखी पहिचानका आधारमा समस्या समाधान गर्ने र विधान संशोधन गरी बस्तुगत संघ निर्माण गरी उद्योगी, व्यवसायीहरुलाई चलायमान बनाउने, विभिन्न स्थानमा सीसी क्यामेरा जडानका लागि पहल गर्ने, उर्लाबारी नगरभित्र हुने फरक फरक दिनको बजार बन्दलाई एउटै दिन बन्द गर्ने व्यवस्था गरी सुन्दरता र एकबद्धता कायम गर्ने, उर्लाबारीका प्रमुख स्थानहरुमा रात्रीकालीन बजार सञ्चालन गर्न नगरपालिकासँग समन्वय गरी पहल गर्ने, उर्लाबारीभित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी पर्यटन क्षेत्र विकासका लागि पहल गर्ने, उर्लाबारीभित्र उत्पादित औद्योगिक तथा कृषि उत्पादनलाई बजारीकरण गर्न सहजीकरण गर्ने, घर बहाल कर घरधनीले नै तिर्ने व्यवस्था गर्न पहल गर्ने प्रतिवद्धता उनीहरुले व्यक्त गरेका छन् ।
यसअघि संघको कार्यसमिति सदस्य, महासचिव हुँदै बरिष्ठ उपाध्यक्ष भइसकेका न्यौपाने संघको नेतृत्व गर्न सक्षम व्यक्तित्वका रुपमा चिनिन्छन् । उर्लाबारी जेसीज, रोटरी क्लब अफ उर्लाबारीलगायत संस्थाको नेतृत्व गर्दा उदाहरणीय कार्य गरेका उनी संघको नेतृत्व आए उल्लेखनीय कार्य गर्ने व्यापारीवृत्तमा चर्चा छ । बरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार श्रेष्ठ पनि संस्था सञ्चालनमा अनुभवी व्यक्ति हुन् । संघको पूर्व कोषाध्यक्ष उनी मोरङ सुनचाँदी व्यवसायी संघको पूर्वअध्यक्ष हुन् भने नेपाल सुनचाँदी व्यवसायी महासंघको केन्द्रीय सदस्य भइसकेका छन् ।




