उर्लाबारी, २ साउन
उर्लाबारी उद्योग वाणिज्य संघको ३६ औं चुनावी साधारणसभा भदौमा हुने बताइएपनि अहिलेसम्म मिति घोषणा गरिएको छैन । तर, उम्मेद्वारी घोषणा भने धमाधम हुन थालेका छन् । यसैक्रममा व्यवसायी विनोद न्यौपानेले अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।
आज पाँच जना पूर्वअध्यक्षसहित पत्रकार सम्मेलन गरेका न्यौपानेले अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी रहेको बताउनुभयो । संघको पूर्व बरिष्ठ उपाध्यक्ष रहनुभएका उहाँ उर्लाबारी–५ मा महालक्ष्मी इन्टरप्राइजेज र महालक्ष्मी मेसिनरी कन्सर्नका सञ्चालक हुनुहुन्छ । उर्लाबारीको व्यवसायलाई चलायमान बनाउन साथै व्यापारी व्यवसायीको हकहितका लागि कार्य गर्ने उद्देश्यका साथ आफूले अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेको उहाँले बताउनुभयो ।
पत्रकार सम्मेलनमा संघका पूर्वअध्यक्षहरु तेजकुमार रिजाल, कल्याण राजभण्डारी, प्रेमचन्द वाहेती, केशव कार्की र प्रितम खड्गी, पूर्व उपाध्यक्ष सचिन शाक्य, पूर्व सचिव चन्द्रप्रसाद भट्टराईलगायतको उपस्थिति रहेको थियो । संघको आगामी नेतृत्वका लागि विनोद न्यौपाने उपयुक्त पात्र रहेकोले आफूहरुले समर्थन गरेको पूर्वअध्यक्ष तेजकुमार रिजालले बताउनुभयो ।
वि.सं.२०५९ सालमा उर्लाबारी उद्योग वाणिज्य संघको सदस्यता लिनुभएका न्यौपाने सोही समयदेखि उर्लाबारीको व्यापारिक गतिविधि चलायमान बनाउन र व्यापार स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्दै आउनुभएको छ । संघको कार्यसमिति सदस्य, महासचिव, बरिष्ठ उपाध्यक्ष रही सफलतापूर्वक जिम्मेवारी निर्वाह गरिसक्नुभएका उहाँ हाल संघको कानुनी सल्लाहकार हुनुहुन्छ ।
सामाजिक कार्यमा न्यौपानेको पाइला पहिलेदेखि नै अघि बढेका छन् । उहाँ उर्लाबारी जेसीजको अध्यक्ष (सन् २०१५), रोटरी क्लब अफ उर्लाबारीको अध्यक्ष (सन् २०२३–०२४) भई सफलतापूर्वक संस्था सञ्चालन गर्नुभएको थियो । शैक्षिक क्षेत्रमा पनि उहाँको योगदान उँचो छ । उहाँद्वारा १४ वर्षअघि स्थापना गरिएको खगेन्द्र पद्म रत्न छात्रवृत्ति कोषबाट वर्षेनि ५० हजार रुपैयाँभन्दा बढीको छात्रवृत्ति वितरण गरिँदै आएको छ । यसका साथै विभिन्न धार्मिक, सामाजिक, स्वास्थ्य, खेलकुदलगायतका अन्य क्षेत्रमा समेत आर्थिक र भौतिक दुवै रुपमा सहयोग उपलब्ध गराउँदै आउनुभएका न्यौपानेले अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेपछि व्यापारीहरु ‘यस पटक केहि नयाँ हुने’ भन्दै आशावादी बनेको बताउँछन् ।
व्यापारी, व्यवसायीसँगको भेटघाट, छलफलबाट हौसिनुभएका उहाँ भन्नुहुन्छ, ‘व्यवसायी साथीहरु सकारात्मक हुनुहुन्छ, यस पटक अवसर दिनुभयो भने विभिन्न कार्ययोजनाका साथ संघको गरिमालाई अझ उच्च बनाउने गरी काम गर्नेछु ।’ संघको अध्यक्ष भएर कार्य गर्नका लागि आफ्ना प्रतिवद्धताहरु केही दिनमा सार्वजनिक गर्ने उहाँले बताउनुभयो ।




