
इटहरी, १६ फागुन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको असफलता कारण देश असफलतातर्फ धकेलिएको बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा पार्टी बृहत कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा अध्यक्ष ओलीले सरकारको असफलताले राजनीति मात्र नभई समाज अराजकता उन्मुख बन्दै गएको जनाउनुभयो । यस्तो अबस्थामा जनता कतै मन अड्याउने ठाउँ नपाएर उत्साहित हुन नपाएर निराशामा रहेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो “विषम परिस्थितिको फाइदा लिएर विभिन्न प्रतिगामी शक्ति मौका आउँछ कि भनेर केहि सडकमै उपद्रो मच्चाउन निस्किएका छन् । एकखालको परीक्षण गरिरहेका छन् ।” अध्यक्ष ओलीले कुनै राजनैतिक पृष्ठभूमि नभएका र जनाधार नभएको तत्व र व्यक्ति प्रधानमन्त्री बन्ने सपना देख्दै हिंडेको बताउनुभयो ।
संसदमै नभएका ब्यक्ति असार १५ गते प्रधानमन्त्री बन्छु भन्दै हिडेको देख्दा अचम्म लागेको अध्यक्ष ओलीले बताउनुभयो । उहाँले वर्तमान असहज परस्थितिमा केही तत्व खेल्न लागेको भन्दै देशको भविष्य अन्धकार हुनबाट बचाउन एमाले एक्लै उभिएको बताउनुभयो । एमाले भएका कारण देशको भविश्यलाई कसैले अन्धकार बनाउन नसक्ने उहाँको दाबी छ । २०८४ मा देशमा एमालेले एकल बहुमत ल्याएर बहुमतको सरकार बनाउने उहाँको भनाई छ । पूर्खाले लडेर बचाएको देश बचाउने अभिभारा एमालेको काँधमा रहेको अध्यक्ष ओलीले बताउनुभयो ।
कार्यक्रमलाई एमाले स्थायी कमिटी सदस्य भीम आचार्य, स्थायी कमिटी सदस्य तथा सुनसरी इञ्चार्ज शेरधन राईले सम्बोधन गर्नुभयो । कार्यक्रममा ५७ जना ब्यक्तिहरु विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रबेश गरेका छन् ।
