About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

ताप्लेजुङ, १ फागुन
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका (क र ख वर्गका) नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवा पु¥याउँदै आएको छ । पालिकाबाट खटिएका स्वास्थ्यकर्मीले महिनामा एक पटक ज्येष्ठ नागरिकको घरमै गई निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श दिँदै आएका छन् ।
ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुका घरमै स्वास्थ्यकर्मी गई स्वास्थ्य परीक्षण, औषधी वितरण साथै स्वास्थ्य परामर्श सेवा सञ्चालन गर्दै आएको पालिका अध्यक्ष विजयप्रकाश वनेमले बताउनुभयो । घरमै स्वास्थ्य सेवा पाएपछि ज्येष्ठ नागरिकहरु पनि खुसी भएका छन् ।
‘मैवाखोलाका ६ वटै वडाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको घरमै गएर स्वास्थ्य परीक्षण गर्ने र औषधी उपलब्ध गराउँदै आएका छौं’ अध्यक्ष वनेमले भन्नुभयो, ‘यो कार्यक्रम गत सालदेखि सुरु गरेका हौँ, यस वर्ष थप प्रभावकारी बनाउँदै लगेका छौँ ।’ महिनाको १ पटक ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको घरमा स्वास्थ्यकर्मी गई उनीहरुको स्वास्थ्य परीक्षण गरी औषधी समेत वितरण गरिएको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष वनेम आफू निर्वाचित भएर आएदेखि नै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर कार्य गर्दै आएको बताउनुहुन्छ । प्राथमिक स्वास्थ्य केन्द्र ढुंगेसाँघुमा एमबीबीएस तहका डाक्टरसहितको स्वास्थ्यकर्मी जनशक्तिको दरबन्दी भएपनि हेल्थ असिस्टेन्ट तहका कर्मचारीको भरमा चल्दै आएको थियो । गाउँपालिकाले गत वर्ष माघमा आकर्षक तलबसहित एमबीबीएस डाक्टर नियुक्त गरेको छ । एमबिबिएस डाक्टरको उपस्थितिले जटिल प्रकारका बिरामीबाहेक अन्य बिरामीहरुले यहीँबाट स्वास्थ्य सेवा पाइरहेका छन् । पालिकाभित्रका कुनै पनि स्वास्थ्य संस्थामा सेवा लिन आउने बिरामीलाई उपचारमा कमी हुन नदिन पालिका संवेदनशील रहेको अध्यक्ष वनेमले बताउनुभयो । अस्पतालहरुमा सेवा सुविधा थप गर्ने कार्य पनि भइरहेको उहाँले जानकारी दिनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय