About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १६ पुस
उर्लाबारी नगरपालिकाको आयोजनामा जलनको प्राथमिक उपचार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । राजधानीस्थित कीर्तिपुर अस्पतालका बरिष्ठ प्लाष्टिक सर्जन डा. शंकरमान राई नेतृत्वको टोलीले आज बिहान उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका स्वास्थ्यकर्मी र दिउँसो उर्लाबारी नगरपालिकाभित्रका महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकालाई जलनको प्राथमिक उपचारका विषयमा जानकारी गराएको थियो ।
गत कार्तिक २६ गते उर्लाबारीमा भएको आगलागीमा घाइतेहरुको फलोअप तथा अभिमुखीकरण कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले डा. राईसहितको टिमलाई उर्लाबारी ल्याएको हो । टोलीले आज घाइतेहरुको फलोअप चेकजाँच गर्नुका साथै अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गरेको हो । अभिमुखीकरणमा डा. राईसहित फिजियो थेरापिष्ट मोहन डंगोल, प्रोग्राम कोअर्डिनेटर कैलाश खाकी श्रेष्ठ, स्वास्थ्यकर्मीहरु निलम श्रेष्ठ र हिमा राईले सहजीकरण गर्नुभएको छ ।


कोअर्डिनेटर कैलाश खाकी श्रेष्ठले प्राथमिक उपचार सुरु गर्नुअघि जलिरहेको व्यक्तिलाई जलनको स्रोतबाट हटाई सुरक्षित स्थानमा पु¥याई जलेको पोलाईलाई कम गर्न घाउमा चिसो पानी खन्याउनु पर्ने बताउनुभयो । यसरी जलेको भागमा लगभग आधा घण्टा लगातार चिसो पानी खन्याउँदा जलनको कारण उत्पन्न भएको पोलाइ चिसो गराएर जलनको गहिराई र फैलावटलाई पनि रोक्ने उहाँले जानकारी दिनुभयो । त्यसपछि जलन भएको भागलाई सफा कपडाले छोपेर यथाशिघ्र अस्पताल लैजानु पर्ने उहाँको भनाई छ । जलन भएपछि कतिपयले जलन भएको भागमा माटो, गोबर वा दाँत माझ्ने मन्जन लगाउने गरेको पाइएको भन्दै उहाँले यस्तो गर्नु नहुने बताउनुभयो ।
उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले अभिमुखीकरण दुई दिन राखिएको बताउनुभयो । भोलि बिहान उर्लाबारीका आधारभुत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी र दिउँसो एम्बुलेन्स चालकलाई अभिमुखीकरण कार्यक्रममा सहभागी गराउने उहाँले जानकारी दिनुभयो । गत लक्ष्मीपूजाको दिन उर्लाबारीमा भएको आगलागीमा प्राथमिक उपचार सम्बन्धी ज्ञान नहुँदा ठूलो समस्या सिर्जना भएको बताउँदै उहाँले त्यसपछि जलनको प्राथमिक उपचार सम्बन्धी ज्ञानको आवश्यकता महसुस गरी काठमाडौंबाट डाक्टर झिकाई कार्यक्रम आयोजना गरिएको बताउनुभयो । आजको अभिमुखीकरणमा नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेलले पनि सहभागिता जनाउनुभएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर