About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १६ पुस
गत लक्ष्मीपूजाको दिन उर्लाबारीमा भएको आगलागी घटनामा घाइते भई उपचार गराइएकाहरुलाई फलोअप र अभिमुखीकरण कार्यक्रमका लागि कीर्तिपुर हस्पिटलका विशेषज्ञ चिकित्सकसहितको टोली उर्लाबारी आएर बिरामीको जाँच गरेको छ ।
उर्लाबारी नगरपालिकाको पहलमा उक्त हस्पिटलका बरिष्ठ प्लाष्टिक सर्जन डा. शंकरमान राई नेतृत्वको चिकित्सक टोलीले आज घाइतेको फलोअप जाँच गरेको हो । कीर्तिपुर वर्न हस्पिटलमा उपचारपछि घर फर्केका १८ जनाको आज मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा चेकजाँच गरिएको हो । घाइतेहरुको सहजताका लागि चिकित्सक टोली उर्लाबारीमै बोलाएको नगर प्रमुख गंगाप्रसाद खरेलले बताउनुभयो ।
कीर्तिपुर वर्न हस्पिटलबाट डा. राईसहित फिजियो थेरापिष्ट मोहन डंगोल, प्रोग्राम कोअर्डिनेटर कैलाश खाकी श्रेष्ठ, स्वास्थ्यकर्मीहरु निलम श्रेष्ठ र हिमा राई आउनुभएको छ । डाक्टरलाई उर्लाबारीमै ल्याएर फलोअप गराएकोमा घाइतेहरुले नगरपालिकाप्रति आभार प्रकट गरेका छन् । ‘फलोअपमा उर्लाबारीबाट काठमाडौं जाँदा आउँदा निकै नै समस्या हुन्थ्यो’ घाइतेमध्येका एक राजिव दियालीले भने, ‘नगरपालिकाले यहीँ डाक्टर झिकाएर नबिर्सिने गुन लगाएको छ ।’ मदन भण्डारी अस्पतालमा फलोअप जाँचका क्रममा नगर प्रमुख खरेलसहित प्रदेश सांसद उमाकान्त गौतम, नगर उपप्रमुख मीना खतिवडा पौडेल, नेकपा एमाले नगर अध्यक्ष गंगाप्रसाद बास्तोलालगायतले घाइतेहरुसँग भेटघाट गर्नुभएको छ ।


गत कार्तिक २६ गते उर्लाबारी–७ इटहरा रोडस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरीसहित २७ जना घाइते भएका थिए । ती मध्ये पाँच जनाको मृत्यु भएको थियो ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर