
उर्लाबारी, १६ कार्तिक
नेकपा एमाले उर्लाबारी नगर कमिटी अध्यक्षमा सर्वसम्मत्को प्रयास असफल भएपछि भोलि निर्वाचन हुने भएको छ । अध्यक्षका प्रत्यासी गंगा बास्तोला र सुरेन्द्र सेर्माले दाबी नछोडेपछि निर्वाचनबाट नेतृत्व चयन हुने भएको हो । यद्यपि, सहमतिका लागि भन्दै भोलि बिहान ७ बजेसम्म उम्मेद्वारी फिर्ताको समय तय गरिएको छ । सहमतिको सम्भावना न्यून भएको स्वयम् अध्यक्षका उम्मेद्वारहरुले बताएका छन् ।
अध्यक्षमा बास्तोला र सेर्माबीच प्रतिस्पर्धा हुने भएपछि अब कसले जित्ला भन्ने अड्कलबाजी गर्न थालिएको छ । दुवै प्रत्यासीले आफूले जित्ने बताएका छन् । जितका लागि उर्लाबारीमा रहेका प्रदेश र जिल्ला स्तरका नेताको भूमिका महत्वपूर्ण ठानिएको छ । प्रदेश कमिटी सदस्य रुपेश खतिवडा, लक्ष्मीदेवी भण्डारी, जिल्ला कमिटी सदस्य अग्नि भट्टराई, पुष्पलाल ढकालले अध्यक्षमा गरेको समर्थनले पनि अर्थ राख्ने एमाले कार्यकर्ताहरु बताउँछन् ।
अध्यक्षका प्रत्यासी गंगा बास्तोला एमाले जिल्ला कमिटी सदस्य हुन् । वि.सं. २०३६ सालमा अनेरास्ववियुबाट कम्युनिष्ट राजनीतिमा प्रवेश गरेका उनी अखिलको जिल्ला कमिटी सदस्य हुँदै २०५१ सालमा उर्लाबारी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भए ।
पार्टी राजनीतिमा उनी तत्कालीन उर्लाबारी गाउँ कमिटी अध्यक्ष, उर्लाबारी नगर कमिटी अध्यक्ष, क्षेत्रीय अध्यक्ष हुँदै जिल्ला कमिटी सदस्यको भूमिकामा छन् । पार्टीमा युवा, विद्यार्थीलगायत पार्टीका सबै क्षेत्रलाई समेटेर लान सक्ने कुशल नेतृत्वकर्ताको परिचय बनाएका बास्तोला पुनः एक पटक उर्लाबारी नगर कमिटी अध्यक्ष भएर पार्टीलाई थप चलायमान बनाउने धोको रहेको बताउँछन् ।
अध्यक्षका अर्का प्रत्यासी सुरेन्द्र सेर्मा युवाको प्रतिनिधित्व गर्दै आफूले नेतृत्वको दाबी गरेको बताउँछन् । विचलन नभए पार्टीमा आफूले अनवरत गरेको योगदानलाई आम नगर प्रतिनिधिले मूल्यांकन गर्ने उनको भनाई छ । सेर्मा नेकपा एमाले नगर कमिटी संगठन कमिटी सदस्य हुन् । युवाहरुलाई समेटेर नेतृत्व गर्ने क्षमता उनमा रहेको कार्यकर्ताहरु बताउँछन् ।