
उर्लाबारी, १६ कार्तिक
नेकपा एमाले उर्लाबारीको सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास विफल हुँदै गएको छ । कार्तिक १३ गते सुरु भएको नगर अधिवेशनमा सर्वसम्मत गराउने आजसम्मको प्रयास सफल हुन सकेको छैन ।
नगर अध्यक्षका लागि उम्मेद्वारी दिएका ११ जनामध्ये ९ जनाले उम्मेद्वारी फिर्ता लिएपनि दुई जनाबीच निर्वाचन हुने सम्भावना बढेर गएको छ । गंगा बास्तोला र सुरेन्द्र शेर्माले नगर अध्यक्षमा दाबी नछोडेपछि निर्वाचन हुने देखिएको हो । यद्यपि, निर्वाचन समितिले भोलि बिहान ७ बजेसम्मका लागि उम्मेद्वारी फिर्ताको समय तोकेको छ ।
अन्य आकांक्षीले उम्मेद्वारी फिर्ता लिएपछि नगर समितिको उपाध्यक्षमा कुमार लिम्बू र सचिवमा गोपालप्रसाद रिमाल सर्वसम्मत चयन भएका छन् । पदाधिकारीमा एक जना महिला अनिवार्य ल्याउनु पर्ने भएकोले दुई उपसचिव मध्ये एकमा निर्मला गौतम सर्वसम्मत् चयन हुने छिन् भने अर्को उपसचिवमा छ जनाले उम्मेद्वारी दिएका छन् । डिल्लीप्रसाद काफ्ले, गोविन्द सुवेदी, भरतमणि गौतम, नवीन तिम्सिना, जीवन काफ्ले र जीवप्रसाद कट्टेल उपसचिवका उम्मेद्वार रहेका छन् । अध्यक्ष पदमा सर्वसम्मत् चयन भए उपसचिवमा पनि सर्वसम्मत हुने नभए सो पदमा पनि निर्वाचन हुने देखिएको छ ।