
उर्लाबारी, १५ कार्तिक
उर्लाबारी बहुमुखी क्याम्पसले आफ्नो २१ औं चुनावी क्याम्पस सभा तथा ३४ औं वार्षिकोत्सव कार्यक्रम गरेको छ । आज क्याम्पस परिसरमा मोरङ क्षेत्र नं. १ का सांसद घनश्याम खतिवडाको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव कार्यक्रम गरिएको हो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खतिवडाले मोरङ क्षेत्र नं. १ कै गहनाको रुपमा रहेको उर्लाबारी बहुमुखी क्याम्पसको उन्नति प्रगतिका लागि आफूले पहल गरिरहेको बताए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष पुष्पलाल ढकालको सभापतित्वमा भएको कार्यक्रममा क्याम्पसका जग्गादाता, अक्षयकोषदाता, विभिन्न क्षेत्रमा योगदान पु¥याउने पूर्व विद्यार्थीलाई सम्मान गरिएको थियो । यस्तै, उत्कृष्ट कार्य गर्ने प्राध्यापक, कर्मचारी, वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने, अतिरिक्त क्रियाकलापमा योगदान पु¥याउने विद्यार्थीलाई नगदसहित सम्मान गरियो ।
कार्यक्रममा क्याम्पस प्रमुख बेधराज भट्टराईले प्रगति प्रतिवेदन पेश गरे । उनले क्याम्पसमा कक्षा ११ देखि स्नातकोत्तर तहसम्मका विभिन्न संकाय र विषयहरुमा अंग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठन हुँदै आएको बताए । स्नातक तहमा शिक्षाशास्त्र, व्यवस्थापन र मानविकी तथा सामाजिकशास्त्र संकाय, स्नातकोत्तर तहमा मानविकी अन्तर्गत ग्रामीण विकास, शिक्षाशास्त्र अन्तर्गत अंग्रेजी, नेपाली, जनसंख्या र पाठ्यक्रम, व्यवस्थापन संकायमा एमबीएसका कक्षा सञ्चालनमा रहेको उनले बताए । क्याम्पसमा ४६४ छात्र र ८७३ छात्रा गरी १३३७ जना विद्यार्थी अध्ययनरत रहेको प्रतिवेदनमा उल्लेख छ ।
निर्वाचन तिहारपछि
उर्लाबारी बहुमुखी क्याम्पसको नयाँ सञ्चालक समिति चयनका लागि निर्वाचन तिहारपछि मात्र हुने भएको छ । क्याम्पसमा सहमतिबाटै समिति चयन गर्न गरिएको आजसम्मको प्रयास विफल भएपछि निर्वाचनको मिति सरेको हो । निर्वाचन समितिले कार्तिक २१ गते बिहान ८ बजे निर्वाचन कार्यक्रम प्रकाशित गर्ने जनाएको छ । क्याम्पस सञ्चालक समितिको नेतृत्वमा नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले आ–आफ्नो दाबी छोडेका छैनन् ।



