About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १४ कार्तिक
नरमाया खनाल दंगाल उर्लाबारी–७ की सशक्त महिला उद्यमी हुन् । नरमाया हस्तकला उद्योगकी सञ्चालिका खनाल आफू मात्र होइन, अन्य महिलालाई पनि उद्यमी बनाउन लागि परेकी छिन् । हाल उनको उद्योगमा १० जना महिलाले निःशुल्क स्वीटर बुन्ने तालिम लिइरहेका छन् ।
गत आर्थिक वर्षमा उर्लाबारी नगरपालिका, वडा नं. ७ को सहयोगमा एक महिनासम्म १८ जना महिलालाई स्वीटर बुन्ने तालिम दिइएको थियो । एक महिनामा तालिमको कोर्ष पूरा नभएपछि अहिले नरमायाले महिलाहरुलाई निःशुल्क सीप सिकाइरहेकी छिन् ।
खनालसँग स्वीटर बुन्ने तालिम लिइरहेकी उर्लाबारी–७ की रचना दाहाल एक महिने तालिमले मात्र कोर्ष पूरा नभएर अहिले फेरि सिक्न आएको बताउँछिन् । “नरमाया दिदीले हामीलाई निःशुल्क सिकाउँदै हुनुहुन्छ, जति महिना लागेपनि कोर्ष पूरा गरिदिने उहाँले बताउनुभएको छ ।’ निःशुल्क तालिम सिक्न पाउँदा सोही वडाकी होमा मगर पनि हर्षित छिन् । भन्छिन्, “हामीलाई सीप सिकाएर आत्मनिर्भर बनाउन नरमाया दिदीको ठूलो योगदान छ ।’
२०६६ सालमा चन्द्र सूर्य सीप विकास संस्था दमकबाट तीन महिने तालिम लिएर हस्तकलाका सामग्री उत्पादन गर्न थालेकी नरमायाले यस बीचमा अन्य धेरै तालिम लिने मौका पाइन् । आफू मात्र आत्मनिर्भर भएर हुँदैन, अन्य महिला दिदीबहिनीलाई पनि अत्मनिर्भरताको बाटोमा अघि बढाउनु पर्छ भन्ने उद्देश्यले उनले विगत तीन वर्षदेखि हस्तकलाको तालिम दिँदै आएको बताइन् । अहिलेसम्म ५० जना महिलालाई तालिम दिएको उनको भनाई छ ।


अहिले हस्तकलाका सामग्रीको माग धेरै भएकोले तालिम लिएकाहरुले खाली हात बस्नु नपरेको खनालको भनाई छ । उर्लाबारी–७ स्थित आफ्नै घरमा व्यवसाय सञ्चालन गर्दै आएकी खनालले स्वीटर, झुमर, ढाकीलगायत हस्तकलाका विभिन्न आकर्षक सामग्री बनाउने गरेकी छिन् । अहिले झुमरको माग उच्च रहेकोले कसैले सिक्न चाहेमा निःशुल्क तालिम दिने उनले बताइन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको महिला उद्यमी समितिको सदस्य समेत रहेकी नरमायाले व्यवसाय विस्तारका लागि प्रदेश १ को सामाजिक विकास मन्त्रालयबाट दुई लाख मूल्य बराबरको स्वीटर बुन्ने मेसिन अनुदानमा प्राप्त गरेकी छिन् । अहिले मेसिन र हात दुवै माध्यमबाट स्वीटर बुन्दै आएपनि हातले बुनेको स्वीटरको माग उच्च रहेको उनको भनाई छ ।
“मै खाउँ, मै लाउँ’ को स्वार्थी दुनियामा नरमाया एक फरक पात्र बनेकी छिन् । आफूले सिकेको सीप अरु महिलालाई सिकाएर उनीहरुलाई आत्मनिर्भर बनाउने बाटोमा लागेकी उनको उदाहरणीय कार्यको सबैले प्रसंसा गर्ने गरेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय