About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १२ कार्तिक
इलामको चुलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ आज फरक रुपमा प्रस्तुत भए । गाउँपालिकाकै वडा नं. ६ को गिताञ्जली आधारभूत विद्यालयको कक्षा ५ मा प्रवेश मात्र गरेनन् विज्ञान विषयको पुतलीको जीवनचक्र पढाउन पनि भ्याए ।
चुलाचुली गाउँपालिकालाई बालमैत्री स्थानीय तह बनाउने अभियान अन्तर्गत सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा गिताञ्जली आधारभुत विद्यालय पुगेका श्रेष्ठले कक्षामा शिक्षण गर्दा विद्यार्थीले निकै चासो दिएका थिए । युवा जोश, जाँगरका साथ केही फरक काम गर्न रुचाउने श्रेष्ठको यस प्रकारको व्यवहारले सबैलाई लोभ्याउने गरेको छ । ‘असल नाम, असल काम’ का पर्याय मानिने सुवास अन्य अफिसरका प्रेरणाका स्रोत समेत हुन् ।
भद्रपुर, उर्लाबारी, खाँदबारी, कमललगायत नगर÷गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहँदा श्रेष्ठले गरेको उदाहरणीय कार्यको अझै प्रशंसा हुने गरेको छ । जहाँ रहेपनि आफू कार्यरत रहेको स्थानीय तहमा अन्यभन्दा फरक काम गरेर कुशलता प्रदर्शन गर्ने अधिकृत श्रेष्ठ चुलाचुली गाउँपालिकाको समग्र विकासमा लागि परेका छन् ।
‘बालमैत्री पद्धति र ब्यवहार, समृद्ध चुलाचुलीको आधार’ भन्ने नाराका साथ २०७८ मंसिर मसान्तमा चुलाचुली गाउँपालिकालाई बालमैत्री स्थानीय तह बनाउने अभियान अन्तर्गत सो विद्यालयमा विद्यार्थी, शिक्षक शिक्षिकालगायत सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रदीपचन्द्र राई, प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ, वडा नम्बर ६ का कार्यवाहक योगनाथ दाहाल, कार्यपालिका सदस्य निर्मला घिमिरेलगायतको सहभागिता रहेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय