
दमक, २३ असोज
पूर्वकै उत्कृष्ट सहकारी संस्था मेची बहुउद्देश्यीय सहकारी संस्था दमकले आफ्ना ज्येष्ठ सदस्यलाई सम्मान गरेको छ । आज संस्थाको सभाहलमा एक कार्यक्रम गरी ८० वर्ष माथि उमेर समूहका ज्येष्ठ सदस्यको ८४ पुजासहित सम्मान गरेको हो ।
८० वर्ष उमेर पार गरेका १३ जना ज्येष्ठ सदस्यलाई नगद ३० हजारसहित खादा र लठ्ठी प्रदान गरेर सम्मान गरिएको हो । संस्थाको ज्येष्ठ नागरिक, महिला तथा बालबालिका उपसमितिको आयोजनामा भएको कार्यक्रममा ज्येष्ठ सदस्यहरु पुरनकुमार ठकुरी, चिरञ्जीवी भण्डारी, प्रेमप्रसाद दाहाल, शिवप्रसाद दाहाल, गोविन्दप्रसाद भट्टराई, हेमकुमारी सापकोटा, तुलसादेवी गौतम, इश्वरी बस्नेत, दिव्यश्वरा पौडेल, इन्द्रकुमारी श्रेष्ठ, मथुरा गौतम, मणिप्रसाद भट्टराई र हरिप्रसाद दाहाललाई नगद ३० हजारसहित सम्मान गरिएको हो ।
संस्थाको रजत वर्षको सन्दर्भमा यस वर्षदेखि ८४ सम्मान कार्यक्रम सुरु गरिएको बताउँदै संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले अबदेखि ८४ वर्ष उमेर पुगेका शेयर सदस्य चौरासी पूजा गर्न संस्थाले नगद ३० हजार सहयोग गर्ने बताए । सोही अवसरमा संस्थाले ७० वर्षदेखि ७९ वर्ष उमेर समूहका ज्येष्ठ सदस्यलाई जनही १५ सय रुपैयाँ, लठ्ठी र खादाले सम्मान गरेको छ । यो उमेर समूहका ७८ जना ज्येष्ठ सदस्यलाई सम्मान गरिएको संस्थाका कार्यकारी प्रमुख खोम बगालेले जानकारी दिए ।
प्रदेश सभा सदस्य अर्जुन राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राईसहित दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओली, राष्ट्रिय सहकारी बैंकका सञ्चालक सदस्य सरिता भट्टराईलगायतले मन्तव्य राखेका थिए । संस्थाकी उपाध्यक्ष तथा ज्येष्ठ नागरिक, महिला तथा बालबालिका उपसमितिकी संयोजक शान्ता डाँगीको सभापतित्वमा भएको कार्यक्रमका बक्ताहरुले शेयर सदस्यको हितमा कार्य गर्दै आएको मेची सहकारीले ज्येष्ठ नागरिक सम्मान कार्यक्रम राखेर उदाहरणीय कार्य गरेको बताए ।