
उर्लाबारी, २२ असोज
अरनिको अस्पताल उर्लाबारीले सुरु गरेको इको कार्डियोग्राफी सेवाले यस क्षेत्रका मुटुका बिरामीलाई मुट जाँचमा सहजता भएको छ । धेरै खर्च गरेर मुटु जाँच गर्न विराटनगर, धरान पुग्नुपर्ने बाध्यताबाट पूर्वी मोरङका बिरामीलाई सहजता भएको छ नै अझ विपन्न बिरामीको अस्पतालले निःशुल्क चेकजाँच गरिदिएको छ ।
गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको अरनिको अस्पतालले एकपछि अर्को सुविधा थप गर्ने क्रममा गत असोज १ गतेदेखि इको कार्डियोग्राफी सेवा सुरु गरेको हो । इको कार्डियोग्राफीबाट मुटुको रोग पत्ता लगाउन सहयोग पुग्ने बताउँदै अस्पतालका डा. सम्पन्न बुढाथोकीले यो प्रविधिबाट मुटुको भल्भको अवस्था पत्ता लाग्ने, रगत पम्पको परीक्षण गरिने, मुटु वरिपरि पानी जमेको छ छैन भने जाँच गरिने जानकारी दिए ।
यसैबीच, लामो समयदेखि मुटु रोगबाट पीडित उर्लाबारी–९ का सन्तकुमार फागो वनेमको अस्पतालले निःशुल्क मुटुको चेकजाँच गरेको छ । सन्तकुमारको मुटुको भल्भ साँघुरिएर रक्त सञ्चारमा समस्या भएको डा. बुढाथोकीले भल्भ खुलाउन अप्रेसन गर्नुपर्ने बताए । वनेमको आर्थिक अवस्था कमजोर भएकोले अस्पतालले मुटुको सम्पूर्ण चेकजाँच निःशुल्क गरिदिएको अस्पतालका अध्यक्ष लोलिम पोमू लिम्बूले बताए । अस्पतालको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिब, विपन्नको निःशुल्क उपचार गर्दै आएको उनले बताए ।
डेढ वर्षदेखि स्वास्थ्य बिमा ल्याएर सहुलियत उपचार गरिरहेको बताउँदै उनले केही दिनभित्रमै इन्डोस्कोपी सेवा पनि सुरु गरिने बताए । यस्तै, यसै वर्षमा आइसीयु र एनआइसीयु सेवा सुरु गरिने अध्यक्ष लिम्बूले बताए । इको कार्डियोग्राफी सेवा मोरङमा विराटनगर बाहिर पहिलो पटक अरनिको अस्पतालमा सुरु गरिएको हो ।