About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १३ असोज
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङमा असोज १६ गते पालिका अधिवेशन हुँदैछ । अधिवेशन आउन दुई दिन मात्र रहँदा अधिकांश गाउँ, नगर समितिको सभापतिदेखि विभिन्न पदमा आकांक्षीको संख्या बढ्दै गएको छ भने चुनावी माहोल तातेको छ ।
जिल्लाभर पालिकाको चुनावी माहोल बढेका बेला उर्लाबारीमा भने नगर अधिवेशनको चहलपहल खासै देखिएको छैन । नगर अधिवेशनबाट सभापति, दुई उपसभापति, दुई सचिव, दुई सहसचिवसहित सदस्यहरु निर्वाचित हुँदैछन् । तर, उर्लाबारीमा अहिलेसम्म एक जनाले मात्र उम्मेद्वारी घोषणा गरेका छन् । नगर सभापतिमा उम्मेद्वारी घोषणा गरेका सुरेन्द्र लिम्बू क्षेत्रीय प्रतिनिधि तथा काँग्रेसजनसँग भेटघाटमा छन् ।
असोज १६ गते नगर अधिवेशनका लागि असोज १५ गते मनोनयनको मिति तय भएको छ । मनोनयनका लागि दुई दिनमात्र बाँकी रहँदासम्मपनि सभापतिको उम्मेद्वार लिम्बूको प्यालन घोषणा भएको छैन । असोज ६ गते सम्पन्न वडा अधिवेशनबाट अधिकांश क्षेत्रीय प्रतिनिधि काँग्रेस मोरङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति खड्ग फागो पक्षका विजयी भएका कारण अर्को पक्षले नगरको नेतृत्वमा आउने उम्मेद्वारीका विषयमा सार्वजनिक रुपमा मुख खोल्न सकेको छैन । सुरेन्द्र लिम्बू फागो समूहबाट नगर सभापतिका उम्मेद्वार हुन् ।
अधिकांश क्षेत्रीय प्रतिनिधि आफ्नो पक्षका विजयी भएपछि फागो समूह नगर समितिमा सबै आफ्नो पक्षको पकड हुनेमा ढुक्क छ । त्यसैले सभापतिबाहेक अन्य पदमा मनोनयनको पूर्वसन्ध्यामा मात्र उम्मेद्वारको नाम सार्वजनिक गर्ने तयारी सो समूहले गरेको बुझिएको छ । सभापति पदका उम्मेद्वार सुरेन्द्र लिम्बू भोलिसम्ममा सबै उम्मेद्वारको नाम सार्वजनिक गरिने बताउँछन् । ‘क्षेत्रीय प्रतिनिधिसँग निरन्तर सम्वाद र छलफलमा छौं’ उनले भने, ‘नगर हाँक्ने सक्षम टिम ल्याउने तयारीमा छौं ।’
उर्लाबारीमा वडा अधिवेशनमा क्षेत्रीय सभापति फागो पक्षले वर्चश्व कायम गरेपछि फागो इत्तर समूहले नगर अधिवेशनमा कस्ता उम्मेद्वार खडा गर्ने हो भन्ने खुलेको छैन । नगर सभापतिको उम्मेद्वारी घोषणा गरेको मुक्ति न्यौपाने वडा अधिवेशनमै क्षेत्रीय प्रतिनिधिमा पराजित भए । वर्तमान नगर सभापति वीरबल थापाले पुनः सभापतिमा उठ्ने विषयमा सार्वजनिक रुपमा मुख खोलेका छैनन् । फागो पक्ष भने आफ्नो समूहको वर्चश्व रहेका कारण सुरेन्द्र लिम्बू सर्वसम्मत् सभापति बन्ने सम्भावना रहेको बताउँदै आएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय